भ्रष्टाचारसम्बन्धी विधेयकहरू थन्किएको भन्दै राष्ट्रपतिले देखाए चासो

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार निवारण र अख्तियारसम्बन्धी विधेयक रोकिएको बारे चासो व्यक्त गरेका छन्। सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यी विधेयकबारे चासो व्यक्त गरेका हुन्।
विगत ६ वर्षदेखि भ्रष्टाचार निवारण र अख्तियार ऐन छलफलमा रहे पनि सहमति नजुट्दा अख्तियार ऐन संसद्मा पेस हुन सकेको छैन। थन्किएको छ।
भ्रष्टाचार विधेयक राज्य व्यवस्था समितिमा छलफलपछि पारित भइसकेको छ। तर, अख्तियार ऐनलाई भने छलफलमा पनि ल्याइएको छैन। राजनीतिक स्वार्थका कारण संवैधानिक परिषद्सम्बन्धी विधेयकलाई पनि छलफलका लागि संसद्मा पेस गरिएको छैन।
राष्ट्रपति पौडेलले नेपाल भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धीको पक्ष राष्ट्र भएकोले त्यसमा उल्लेखित प्रावधानअनुसार कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक रहेको बताए।