सिन्धुपाल्चोक जिल्लामा पनि बालबालिकाहरुको सिकाई उपलब्धीमा एमजीएमएल कार्यक्रम प्रभावकारी

इन्द्रावती, सिन्धुपाल्चोक/धुलिखेल नगरपालिकासँगको समन्वय र सहकार्यमा शैक्षिक सशक्तिकरण केन्द्रले छिमेकी जिल्ला सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ७ स्थित पञ्चकन्या आधारभुत विद्यालयमा शैक्षिक अवलोकन भ्रमण आयोजना गरेको छ ।

अवलोकन भ्रमणमा धुलिखेलमा रहेका २२ वटा विद्यालयका प्रधानाध्यापक, एमजिएमल कार्यक्रम अन्र्तगत तालिम प्राप्त भई कार्यरत शिक्षकहरु ६ जना, नगरपालिकामा कार्यरत शिक्षा तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक केन्द्रमा कार्यरत कर्मचारीहरु, शैक्षिक सशक्तिकरण केन्द्रमा कार्यरत कर्मचारी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । शैक्षिक सशक्तिकरण केन्द्रका कार्यकारी निर्देशक दिपक रोक्काले बालबालिकाहरुको सिकाई उपलब्धी बृद्धीका लागि विद्यालयहरुले गरिरहेको अभ्यास तथा अनुभवका बारेमा जानकारी लिने उदेश्यले अवलोकन भ्रमण गराईएको बताए ।

एमजीएमल पद्धतीको सफल अभ्यास तथा प्रभावकारीताबारे अवलोकन गरी आफ्नो वियद्यालयमा प्रभावकारी संचालनका लागि आवश्यक रणनीति तयार गर्न भ्रमण सफल हुने विश्वास ब्यक्त गरिएको प्रधानाध्यापक गायत्री तिमल्सिनाले बताईन् । आधारभूत शिक्षाको गुणस्तर सुधारका निमित्त जर्मन नेपाल सहयोग संघ र धुलिखेल नगरपालिकाको सहकार्यमा शैक्षिक सशक्तिकरण केन्द्रले कक्षाकोठा तथा विद्यालय बालमैत्री तवरमा पुनव्यवस्थापन गर्ने, बालकेन्द्रित पठनपाठनमा आधारित कृयाकलाप तथा प्रकृया संचालन गर्ने, आवश्यक शैक्षिक तथा पठन सामाग्री प्रयोग गर्ने, शिक्षकहरुको दक्षता अभिबृद्धी गर्ने र सरोकारवालाहरुसँगको साझेदारी तथा समन्वयमा बढावा दिने कार्यक्रमको मुख्य उदेश्य रहेको थियो ।


गाउँपालिकाका शिक्षा शाखा प्रमुख मिनबहादुर धामीले एमजीएमल कार्यक्रम प्रभावकारी भएको बताए । एमजीएमल कार्यक्रम प्रभावकारी भएकैले गाउँपालिकाले यो वर्ष थप ११ वटा विद्यालय र आगामी शैक्षिक सत्रबाट सबै विद्यालयमा लागु गर्ने गरी कार्यक्रम र बजेट विनियोजन गरेको बताए । कक्षा ५ को वडा स्तरीय परिक्षाबाट एमजीएमल प्रभावकारी भएको तथ्यांक प्राप्त भएकाले बालबालिकाहरुको सिकाई उपलब्धी बढाउन उक्त कार्यक्रम शशक्त रुपमा अघि बढाउने धामीले बताए । बालबालिकाहरुको सिकाई, सिकाई उपलब्धी तथा दिगोपनामा उक्त कार्यक्रमलाई तीन तहकै सरकार, अभिभावक र विद्यालयले परामर्श तथा समय समयमा प्रविधिमैत्री बनाउन अन्र्तक्रिया लगायतका आवश्यक छलफल गर्न सरोकारवालाहरुले सुझाव दिए ।
इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालले एमजीएमल कार्यक्रम प्रभावकारी मात्रै नभई बालबालिकाहरुको सिकाई बृद्धीमा अत्याश्यक भएकाले गाउँपालिकाले आगामी ३ वर्ष भित्र सबै विद्यालयमा लागु गर्ने बताए । उक्त पालिकामा ४४ वटा विद्यालय मध्ये एकीकरण पछि ३८ वटा विद्यालय संचालनमा छन् । १२ वटा माध्यमिक विद्यालय छन् । १३ वटामा अहिले एमजीएमल कार्यक्रम संचालनमा छ । आगामी शैक्षीक सत्रमा ११ वटामा थप हुनेछ ।