गुफा डाँडा जलवायु पार्कमा पर्यटकको चहलपहल

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ गुफा डाँडा स्थित गुफा डाँडा जलवायु पार्कमा पर्यटकको चहलपहल बढेको छ । पार्कसम्म पुग्ने सडक निर्माण तथा पार्क क्षेत्रमा आवश्यक भौतिक संरचना निर्माण भएसँगै पर्यटकको रोजाईमा गुफा डाँडा पर्न थालेको हो । मनोरम दृश्यावलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक गुफा डाँडा पुग्ने गर्दछन् । छलफल, गोष्ठी, राजनीतिक दलका कार्यक्रम समेत आयोजना गर्न थालिएको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको थियो ।
जलवायु परिवर्तनलाई संकेत गर्ने स्ट्याचुको अनावरण तथा ७७ जिल्लाको नाम अंकित राष्ट्रिय झण्डा फहराएर सम्मेलन उद्घाटन गरिएको थियो ।
चौँरी खर्कको रुपमा चिनिएको गुफा डाँडामा जलवायु सम्मेलनपश्चात् पर्यटकीय गन्तव्यको विकाससँगै गुफा डाँडा जलवायु पार्क घुम्न पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
गुफा डाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफा डाँडा जलवायु पार्क पर्यटकको आकर्षक गन्तव्य स्थल बन्न थालेको छ ।
परापूर्वकालमा लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफाडाँडा भनिएको विश्वास छ ।
यहाँबाट विभिन्न हिमशृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्त्विक महत्त्व र जडीबुटीका हिसाबले पनि गुफा डाँडा महत्वपुर्ण छ ।
यहाँबाट हिमाली सृङ्खला, मेलम्ची खानेपानी आयोजना, धुलिखेल, नगरकोट लगायत अवलोकन गर्न सकिन्छ । सधैं चिसो भइराख्ने गुफा डाँडालाई गर्मी छल्ने गन्तव्यका रुपमा समेत लिइन्छ ।

तस्बिर/विकास तिमल्सिना