डाक्टर जो सुकै होस् , त्यो मेरो भगवान् हो

हामीले विदेश जाँदा आउँदा एयरपोर्टमा सामान चोर्छ भनेर प्लास्टिकले सुटकेसमा र्यापिङ्ग गरेको देखेका थियौ । पहिलो पटक डा. राजेन्द्र कोजु द्वारा लिखित मुटुको कथा किताब पनि प्लास्टिकले र्यापिङ्ग गरेको पाए । मुटुलाई जस्तै किताबलाई पनि माया । पसलहरूमा राखिएको नयाँ किताब किन्दा अरूले पढेर फिर्ता गरेको जस्तो धुलो मैलो यो किताब हुँदैन । डा. साहेब जुक्ति राम्रो लाग्यो । हस्पिटलमा बिरामी र बिरामी कुरुवा सबैलाई समय बिताउन सहज हुने सबैको लागि उपयोगी किताब आफ्नै हस्पिटलको काउन्टरमा २० % छुटमा बिक्री भएको हुँदा धेरैको हात हातमा मुटुको कथा किताब देखेँ ।
मैले धुलिखेल हस्पिटलमा चस्मा बनाउन जाँदा चस्मा घर काउन्टरमा किताब किनेको थिए । सुरुमा पढ्न चाहेको मुटुको कथा अगाडि नै रहेछ । मुटुको कथा कविताको भावमा मैले कता कता धेरै पटक सुनेको जस्तो लाग्यो सायद लेखकले फेसबुकमा गुन गुनाउने गर्नु भएकोले होला। कवितामा मुटुले भन्छ ।
उ बिरामी हुनुमा उसको दोष कि मेरो ?
याँहा मुटुको कुरा कथामा पनि लेखिएको छ । हजारौँ बिरामीहरूको आ आफ्नै मुटुको कथा होला तर डाक्टरको लागि हामी सबैको मुटुको एउटै कथा हुने रहेछ । मुटुलाई कसरी सुरक्षा दिनु पर्छ ? मानिसले आफ्नो खानपिनमा बेवास्ता र योग व्यायाम नगर्नाले मुटुलाई असर गर्ने रहेछ । आफ्नै मुटुको कथा पढेर , म एक छिन बाहिर घुम्न निस्के ।
पोखरी छेउमा घुम्दै गर्दा काका कृष्ण बहादुर सँग अर्को मान्छे गफ गर्दै थिए । उ भन्दै थियो । पहिले म पनि बेस्कन रक्सी खान्थे अहिले छोडी दिए । अहिले म तगडा छु उसले आफ्नो फुर्तिलो शरीर प्रदर्शन गर्दै थियो । मैले टक्क अडिएर प्रश्न सोधे रक्सी कसरी , किन छोड्यौ ?
उसले भन्यो डाक्टरले भनेर ।
डाक्टर भने पछि छोड्यौ ?
कहाँ छोड्नु उसले आफ्नो कथा सुनाउन थाल्यो ।
गाउँमा सबैले जाड रक्सी खान्छन् । मैले पनि सानैमा खाएको हु । गाउँमा पैसा थिएन । म साँगामा बसेको १० , १२ वर्ष भयो है ! काम गरेर पैसा भए पछि मैले अरूलाई ख्वायो । अरूले मलाई ख्वायो । यसरी सधैँ खाने बानी लाग्यो । कमाएको पैसा रक्सीमा नै सिद्ध्यायो । एक पटक छाती बेस्सरी दुख्यो । धुलिखेल हस्पिटलमा जँचाउन गएको डाक्टरले राम्रो सँग सम्झायो । मेरो त फोक्सो पनि बिग्रेको छ । कलेजो पनि सकी सक्यो । किट्नी खराब हुन्छ रे । मुटु बन्द भएर हटहट्याक भएर मर्न सक्छ अब देखि रक्सी नखानु औषधि खानु भनेको थियो ।
मैले बिचमा सोधे अनि तिमिले रक्सी छोडेको ?
उसले भन्यो कहाँ छोड्नु । डाक्टरको काम भन्ने हो ,भनी हाल्छ उनीहरूले पनि बिरामीलाई भन्ने मात्र हो । आफै टन्न , बियर ,हुस्की, महँगो महँगो रक्सी चुरोट सबै खान्छ । मैले पनि देखेको छु ।
अनि किन छोडेको त रक्सी ?
पहिला त डाक्टरले त्यसै भनेको जस्तो लाग्यो । पछि त डाक्टरले जस्तो भनेको उस्तै हुँदै आयो । काम गर्न पनि गाह्रो हुन थाल्यो । खोकी पनि आउने । जरो पनि आउने । काम नगर्दा पनि थकाई लाग्ने । पसिना आउने भए पछि अब त मर्छु होला भन्ने लाग्यो अनि छोडी दिए ।

मैले मोबाइलमा भएको डाक्टर कोजुको फोटो देखाउँदै सोधे । डाक्टर यही हो ? उसले फोटो नहेरी भन्यो , डाक्टर जो सुकै होस् ! त्यो मेरो भगवान् हो ।
यता खाजा पसलमा पनि यही रक्सी कै कुरा चली रहेको रहेछ । मेरो भाइ पर्ने भर्खर ३०, ३२ वर्षको उसैको प्रसङ्ग चलिरहेको छ । उसलाई कसले सम्झाउने ? उसलाई सबै कुरा थाहा छ । आफ्नो आँखा रातो भएर फुट्ला जस्तो छ । जहाँ खान पिउन पाउँछ त्यहाँ पुगेको हुन्छ । खाएर मात्र पुग्दैन राती निन्द्रा लाग्दैन रे ! एक बोतल बोक्नै पर्ने ! मैले उनीहरूको कुरा सुनेर भने , भाग्यमानी अरूको देखेर चेत्छ , अभागी आफूलाई परे पछि चेत्छ । उ त्यो हरि सुन्दर साय् अहिले रक्सी छोडेर कति राम्रो भयो । फेरि उसैको कुरा सुरु भयो । पहिला पहिला एक प्लेट म: म: खाए आधा फाल्ने । आधा प्लेट लिए दुई तिन्टा खाने खाली रक्सी पिउने । अहिले त रक्सी खाने पैसा खुटुक्रेेमा खसाल्ने गरेको छ । खुटुक्रे साहु जी ठिमी दाईचाले भन्यो ।
कुरो फेरि सुरु भयो । रक्सी खाएर छिट्टै माथी जान लागेकाहरुको नाम लिस्ट । रक्सी खाएर अल्पायुमा संसार छोडनेहरु नाम लिष्ट ,अनि बेलैमा रक्सी छोडेर अहिले सप्रिनेहरुको नाम लिष्ट । वडा सदस्य टुलुक्क आई पुग्यो । लिष्टमा आफ्नो नाम सुनेर आफैले भन्यो । रक्सी नछोडेको भए दुई चार पिण्ड खाई सक्थे । सबैको हाँसो छुट्यो ।