आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै

काठमाडौं /आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ ।
हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ ।विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ । यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।
पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको बताइन्छ । यो दिवस अहिले विश्वभर चर्चित छ । भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।
सप्ताहकै रूपमा भ्यालेन्टाइन डे
भ्यालेन्टाइन डे लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ । जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ । यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जाने गर्छन् । प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ ।
भ्यालेन्टाइन डे को इतिहास
संसारभर लोकप्रिय भ्यालेन्टाइन डे को इतिहास रोचक छ । यसको इतिहास एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ । तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ ।
तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे । त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले ।
पादरीले बिहे गराइ दिएको खबर एक कान दुई कान मैदान हँुदै सम्राटसम्म आइपुग्यो । र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो । अनि मृत्युदण्ड दिने निर्णय गरियो । भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए ।
भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो । उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो । भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ । भ्यालेन्टाइन डे का दिन आफ्नो सन्देश खवर लेखेर प्रेमी प्रेमिकालाई दिने चलन पछि चल्यो ।
भ्यालेनटाइनको बुझाइअनुसार अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुशी हुन्छन् । त्यसैले उनले राजाको आदेश समेत अवज्ञा गर्दै प्रेम र विवाहका लागि प्रेरित गर्ने, जोडीहरु खोजेर सार्वजनिक स्थलमै सामूहिक विवाह गराइ दिन्थे ।
बीसौ शताब्दीमा आएर भ्यालेन्टाइन डे युरोपभरि मनाउने प्रचलन आयो भने एक्काइसौं शताब्दीमा यो दिवस विश्वभरि मनाउन थालियो । तर विश्वका केही मुलुकहरूमा भ्यालेन्टाइन डे मनाउन प्रतिबन्ध गरिएको छ । जसमा साउदी अरव, इराक, इन्डोनेसिया छन् भने मलेसियामा मुस्लिमलाई यो दिवस मनाउन प्रतिबन्ध गरिएको छ ।
विशेषगरी फेब्रुअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ । यस अवसरमा जसरी युवायुवती तथा प्रेमप्रेमिकाहरु प्रेम र विश्वासको प्रतीकको रूपमा मनाइरहेका छन् यो दिवस, यसैगरी सदैव एक अर्काबीच विश्वासको आभास भइराखोस् । यही छ मेरो सबै जोडीहरुमा शुभकामना । शुभ प्रेम दिवस ।