अरुणोदय अंग्रेजी माविमा शैक्षिक प्रदर्शनी, प्याब्सन केन्द्रिय अध्यक्ष डिके ढुंगानाले गरे अवलोकन

पनौती/अरुणोदय अंग्रेजी माध्यमिक विद्यालय, पनौती ४ काभ्रेले शैक्षिक प्रर्दशनी आयोजना गरेको छ । कक्षा ३ देखि ८ सम्म अध्ययन गर्ने बालबालिकाहरुले सिकाईलाई ब्यवहारमा तथा प्रयोगात्मक तरिकाले देखाउने उदेश्यले आयोजित प्रर्दशनीमा आसपासका संस्थागत र सामुदायिक २० वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाएका थिए ।
प्याब्सन नेपालका अध्यक्ष डिके ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तुयुकाजी ताम्राकारको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ढुंगानाले विद्यार्थीहरुलाई पहिलाको जस्तो अवस्थाबाट नभई फरक ढंगबाट सिकाउने प्रकृया संस्थागत विद्यालयहरुले शुरु गरिसकेको बताउँदै ज्ञान, सीप र संस्कार आजको आवश्यकता रहेको बताए ।

विद्यार्थीहरुले उपलब्ध गराउने ज्ञान, सीप र संस्कारमा प्रविधि थपेर अझै उत्कृष्ट विद्यार्थी तयार गर्ने योजनामा संस्थागत विद्यालयहरु सक्रिय रहेको ढुंगानाले बताए ।
नीजि विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा संलग्न गराउँदै उनिहरुको स्थायीयत्वका लागि प्याब्सनले तालिम प्रदान गरी सक्षम बनाउने प्रकृयालाई निरन्तरता दिएको अध्यक्ष ढुंगानाले बताए । ‘शिक्षकलाई तालिम, अभिभावकलाई अभिमुखिकरण र विद्यार्थीहरुलाई अध्ययन गराउन फरक शैली र तरिका मार्फत प्याब्सनले कार्य गरिरहेको छ’–अध्यक्ष ढुंगानाले भने–‘हरेक विद्यार्थी कुनै न कुनै कुरामा सक्षम र उत्कृष्ट हुनुको विकल्प छैन । त्यसका लागि विद्यार्थी स्वंयमको सक्रियता आवश्यक छ ।’ कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने लगायतले मन्तब्य राखेका थिए ।
विद्यालय संचालक अध्यक्ष भिमसेन केसी, प्रिन्सिपल विष्णुप्रसाद दाहाल, विद्यालयका सुरेशकुमार ताम्राकार, सहायक प्रिन्सिपल कृष्णकुमार केसी, प्याब्सनका केन्द्रिय सदस्य पूर्णकुमार श्रेष्ठ, प्याब्सनका उपाध्यक्ष बसन्त नेपाल, सचिव विमल न्यौपाने, पनौती वडा नम्वर ८ का सचिव राजकुमार श्रेष्ठ, पनौती प्याब्सन अध्यक्षरामचन्द्र देउजा, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

शिक्षक प्रमेश केसीको संचालन रहेको कार्यक्रममा बालबालिकाहरुले अध्ययन गर्ने क्रममा विभिन्न विषयमा सिकेका ज्ञानलाई सीपका माध्यमबाट ब्यवहारीक रुपमा प्रर्दशन गरेका थिए । विशेषगरी पनौतीलाई जोडेर १२ वर्षे मकर मेला, पनौतीका ऐतिहासिक, धार्मिक र सांस्कृति पर्व तथा चाडवाड, नेपालको मौलिकता तथा सास्कृतिक विषयबस्तु, विभिन्न विषयमा अध्ययन गरेका पाठहरुलाई प्रदर्शनीमा विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।
