अध्यादेश कसैले विरोध गर्दैमा रोकिँदैनन्ः एमाले महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा नरोकिने बताएका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रियामा उहाँले मुलुकमा सुशासनका लागि अध्यादेश ल्याइएको भन्दै कसैले विरोध गर्दैमा नरोकिन जिकिर गरे ।

महासचिव पोखरेलले हरेक विषयको विकल्प हुने र अध्यादेश पारित गर्न पनि उपयुक्त विकल्प प्रयोग गरिने बताएका छन् ।

सरकारले अध्यादेशका माध्यमबाट सूचना प्रविधि क्षेत्रलाई पनि सम्बोधन गरिएको बताउँदै महासचिव पोखरेलले अध्यादेशमा कानुनको स्पष्ट व्याख्या गरिएकाले नियमावली आवश्यक नपर्ने र आवश्यक परे सरकारले चाँडै त्यो काम पनि अगाडि बढाउने बताए। अध्यादेशले सुधारका लागि पहल गरेको उनको भनाइ थियो ।

कार्यक्रममा विभागका प्रमुख टङ्क कार्कीले सूचना प्रविधिमा भएका अस्पष्ट कानुनलाई सरकारले संशोधन गर्नुपर्ने बताए ।