अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई थप उपचारका लागि काठमाण्डौ ल्याइयो

पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका छन्।

अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाण्डौको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा लगिएको नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एम्बुलेन्सबाट लगिएको थियो । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा चोट पुगेको छ ।

मेयर आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाण्डौ पठाइएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए । आचार्यको अनुहार तथा गालामा चोट पुगेको छ ।