धादिङबेसीमा फागुन १६ र १७ गते बाग्मती साहित्य महोत्सव

काठमाण्डौ / धादिङको सदरमुकाम धादिङबेसीमा आउँदो १६ र १७ गते बाग्मती साहित्य महोत्सव हुने भएको छ ।

बाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा कर्मचारी मिलन केन्द्र धादिङ, नीलकण्ठ प्रज्ञा प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ धादिङको व्यवस्थापनमा साहित्य महोत्सव हुन लागेको हो ।

साहित्यमार्फत बाग्मती प्रदेशको पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नका लागि महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष विष्णु प्रसाद आचार्यका अनुसार स्थानीय साहित्य र सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन दिन तथा क्षेत्रीय साहित्यकारहरूको सिर्जनात्मक कार्यलाई सम्मान गर्न महोत्सवले सहयोग पुग्नेछ ।

बाग्मती साहित्यिक महोत्सवले साहित्यका क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा साथै स्थानीय समुदायकाबीच सन्देश प्रवाह गर्ने, सांस्कृतिक र सामाजिक एकता प्रवर्द्धन गर्ने र युवा पुस्तामा साहित्यिक चेतना फैलाउने कार्यमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको उनले बताए ।