धुलिखेलमा चलचित्र छायाङ्कन स्टुडियो निर्माण हुने

धुलिखेलमा चलचित्र छायाङकन स्टुडियो निर्माण हुने भएको छ । धुलिखेल नगरपालिकाको ३९ औं स्थापना दिवसको अवसरमा नगरपालिका र चलचित्र विकास बोर्डबीच स्टुडियो निर्माणका लागि जग्गा उपलब्ध गराउने समझदारी भएको हो ।

धुलिखेल नगरपालिका वडा नम्बर ८ स्थित कटुवापाखा, बडाल गाउँमा रहेको १३ सय रोपनी सरकारी जग्गा चलचित्र छायाङकन स्टुडियो निर्माणका लागि नगरपालिकाले उपलब्ध गराउने समझादरी भएको छ । समझदारी पत्रमा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जु र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हस्ताक्षर गरेका छन् ।

दुवै पक्षको समझदारी अनुसार चलचित्र छायाङकन स्टुडियोको लागि सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मुल्याङकन र विस्तृत परियोजना प्रतिवेदन तयरा लगायतका कार्य दुवै पक्षको समन्वय र सहकार्यमा अघि बढाउने उल्लेख छ । स्थानीय जनताको शैक्षिक योग्यता र क्षमता अनुसार चलचित्र छायाङकन स्टुडियो सञ्चालको क्रममा रोजगारीको पहिलो प्राथमिकता धुलिखेल–८ का वडावासीलाई दिइनेछ । धुलिखेलमा निर्माण हुने चलचित्र छायाङ्कन स्टुडियोले चलचित्र क्षेत्रको विकासको लागि सहयोग पुग्ने नगर प्रमुख अशोक ब्याञ्जुले बताए ।

धुलिखेलको पर्यटन प्रवद्र्धनमा समेत स्टुडियो निर्माण महत्वपुर्ण रहेको नगर प्रमुख ब्याञ्जुले बताएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले नगरपालिका सँगको समझदारीले आफु पनि धुलिखेल नगरवासी भएको महसुस भएको बताए । उनले निर्माण कार्यलाई तिव्रता दिइने समेत बताएका छन् । उक्त स्थानमा आउटडोर स्टुडियो निर्माणको योजना रहेको उनले बताए ।