विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्नेलाई धुलिखेल नगरपालिकाको सम्मान

धुलिखेल नगरपालिकाले स्थापना दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा रहेर योगदान गर्नेहरुलाई सम्मान गरेको छ । ३९ औं स्थापना दिवसको अवसरमा शिक्षा, स्वास्थ्य, खेलकुद, कला, कृषि तथा पर्यटन, वातावरण संरक्षणको क्षेत्रमा योगदान पुर्याउनेहरुलाई विभिन्न मान पदवीद्धारा सम्मान गरिएको हो । नगरपालिकाले प्रदान गर्ने सबैभन्दा ठुलो मान पद्वी धुलिखेल रत्न धुलिखेल अस्पतालका डा.दिपक श्रेष्ठले प्राप्त गरेका छन् । अनुसन्धान, सामाजिक तथा सामुदायिक क्षेत्रमा अतुलनीय योगदान गर्दै धुलिखेलको गरिमा उचो राख्न विशिष्ट योगदान गरेको भन्दै नगरपालिकाले सम्मान गरेको छ ।
धुलिखेल नक्षत्रबाट पुर्व नगर उपप्रमुख समेत रहनुभएकी विमला शर्मा चौंलागाँई सम्मानित भएकी छन् । राजनीतिक क्षेत्रमा लोकप्रियता हासिल गरेको, जनप्रतिनिधिको रुपमा विवादरहित र इमान्दारितापुर्वक सेवा गरेकोमा उनलाई सम्मान गरिएको हो । धुलिखेल प्रज्ञाश्रीबाट योजना खड्गी सम्मानित भएकी छन् । धुलिखेल–६ बस्ने खड्गीले गायन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । धुलिखेल सेवाश्री मार्फत काठमाडौं विश्वविद्यालयलाई सम्मान गरिएको छ ।

धुलिखेल तारा मार्फत संम्पदा संरक्षण, वातावरण संरक्षण र सञ्चार क्षेत्रमा काम गरिरहेको जि.आइ.जेटका डेपुटि प्रोग्राम कोअर्डिनेटर तीर्थ सिन्हालाई सम्मान गरिएको छ । एथ्लेटिक्समा स्वर्ण पदक विजेता धुलिखेल–५ का पुष्पलाल श्रेष्ठ, नगरको विकास निर्माण, सम्पदा संरक्षण र विपद्मा योगदान गर्ने धुलिखेल १२ का अमोदनाथ प्याकुरेल, खेलकुद क्षेत्रमा साझेदारी सहित योगदान गर्ने अखिल नेपाल फुटवल संघ एन्फा, शैक्षिक तथा सामाजिक क्षेत्रमा योगदान गर्ने धुलिखेल–७ का चुनियालाल श्रेष्ठ धुलिखेल ताराद्धारा सम्मानित भएका छन् । यस्तै जनसेवा श्रीबाट नगरपालिकाको सेवामा इमान्दारिताका साथ सकृय इन्जिनियर रोजन ताम्राकार र शिक्षा क्षेत्रमा कृयाशिल अशोक घिमिरेलाई सम्मान गरिएको छ । नगरपालिकाले हरेक वर्ष विभिन्न क्षेत्रमा क्रियाशिल रहि नगरपालिकालाई चिनाउन सहयोग गर्ने व्यक्तित्व तथा संस्थालाई सम्मान गर्दै आइरहेको छ ।