६९ हजार सदस्य रहेको बिन्धवासिनी साकोस ३२ औं वर्षमा प्रवेश

बनेपा/ काभ्रेपलान्चोक जिल्लामा मुख्य कार्यालय रहेकोे बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३२ औं वर्ष प्रवेश गरेको छ । संस्थाले स्थापना दिवसको अवसर पारेर सदस्य लक्षित विविध कार्यक्रम संचालन गरको छ ।

५७ हजार पाँच सय ८९ शेयर सदस्य र ११ हजार सात सय ७९ जना शैक्षिक बालबचत कर्ता सहित ६९ हजार तीन सय ६८ जना सदस्य रहेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन खोपासी र चलालगणेशस्थान गा.वि.स.बाटमा २०५० साल फागुन ६ गतेबाट शुरु भएको यस संस्थाले हाल भक्तपुर, काठमाण्डौ र ललितपुर जिल्ला सहित चार वटा जिल्लाभर कार्य क्षेत्र विस्तार गरेको छ ।

यस संस्थाले महाभूकम्प, कोभिड १९, बाढि पहिरो जस्ता विनासकारी प्राकृतिक प्रकोपमा व्यवसाय निरन्तरता योजना निर्माण गरी सहुलियत ऋण, व्याज छुट सुविधा, निःशुल्क अक्सिजन वितरण, राहत सुविधा, पुनःनिर्माण तथा व्यवसाय पुनःस्थापना सहुलियत ऋण प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत के. बि.लामा स्याङ्तानद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसैगरी स्थानीय सरकारहरुको सहकार्यमा कृषि तथा पशुजन्य र लघु उद्यम विकास व्यवसायमा व्याज अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ भने कृषि क्षेत्रको विकास र प्रवद्र्धनको लागि ज्ञानमा आधारित कृषि कार्यक्रम(किसान २) पशु विमा र बाली विमा, कृषि प्राविधिक सेवा, व्यवसाय प्रवद्र्धनको लागि व्यवसाय विकास परामर्श सेवा(BDS) प्रदान गर्दै आएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सहकारीले नेपाल राष्ट्र बैकबाट सिमित बैंकिङ्ग कारोबार गर्न स्वीकृति लिई बैकिङ्ग सेवा प्रदान गर्नुका साथै आपतविपतमा परेको शेयर सदस्यहरुलाई करीब रु. ८२ हजार सम्म निःशुल्क सदस्य सुरक्षण सेवा, लघु जीवन विमा सेवा, विप्रेषण सेवा, प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्यावलेट बैकिङ्ग, ई–टेलर, एटिएम, क्यूआर पेमेन्ट आदि सेवा प्रदान गर्दै आएको छ ।