अध्यादेशको विपक्षमा मतदान गर्ने नेकपा एसको निर्णय

नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारले संसद्मा दर्ता गराएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकपछि प्रचार विभागका प्रमुख प्रकाश ज्वालाले विज्ञप्ति निकालेर सरकारले ल्याएका अध्यादेशहरूमा संसद्मा पार्टीले विपक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए ।

सरकारले माघ १८ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा ६ वटा अध्यादेश दर्ता गरे पनि निर्णयार्थ पेश हुन सकेको छैन । भूमिसम्बन्धी अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्ने नदेखिएपछि सरकारले अध्यादेश निर्णयार्थ पेश नगरेको हो ।

नेपाली कांग्रेस र नेकपा (एमाले) ले अध्यादेशमा सहयोग गर्न एकीकृत समाजवादीलाई आग्रह गरेको चर्चाबीच पार्टीले अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० जना र राष्ट्रियसभामा ८ जना सांसद छन् ।