सम्झनाका पानाहरुमा जनताका नेता विदुर सापकोटा !

होमप्रसाद चौंलागाँईं
एलेजस्तो लाग्छ, पार्टीका ती अभियान र गतिविधिहरु, जो क. विदुर सापपकोटाको पालामा सम्पन्न भयो । तत्कालिन पञ्चायती शासन व्यवस्थाको विरुद्ध २०४६ सालको प्रथम जनआन्दोलनताका महत्वपूर्ण भूमिका खेल्नु भएका आदरणीय नेताको देहावसानको सन्दर्भ आज पिडादायि बनिरहेको छ । विदुर सापकोटा, काभ्रे क्षेत्र नं. ४ बाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका सभासद् हुनुहुन्छ । १३ वर्ष जिल्ला पार्टीको नेतृत्व गर्नुभएका उहाँले १३ वर्षको उमेरमै राजनीतिक जीवन सुरु गर्नुभएको थियो । अनेरास्ववियु प्रारम्भिक कमिटीबाट राजनीतिमा होमिनुभएका उहाँले अनेरास्ववियु हुँदै एमालेको विभिन्न संगठनहरुमा बसेर काम गर्नुभएको छ । समाजशास्त्रमा स्तानतकोत्तर गर्नुभएका सापकोटा संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिको सदस्य हुनुहुन्थ्यो ।
तत्कालिन समयमा संविधान सभा सदस्यको हैसियतले उहाँले देश जनताको लागि राख्नु भएको आफ्नो धारणा आजपनि कालजयी बनिरहेको छ । उहाँको अनुसार “तत्कालिन समयमा प्रमुख राजनीतिक दलहरु एमाले, कांग्रेस र एमाओवादीको अडानले संविधान नआएकै हो । अहिले सबै दल खुकुलो भएर प्रस्तुत हुँदा संविधान ल्याउन सहज भयो । संविधान भनेको शक्ति सन्तुलनले आउने राजनीतिक दस्तावेज हो । कम्तिमा जारी भयो भने आन्दोलनका उपलब्धी संस्थागत गर्न सकिन्छ । अहिले सम्झौताको दस्तावेज हुन्छ । संविधान अपरिवर्तनिय भन्ने हुँदैन । अभिमत लिएर संशोधन गर्न सकिन्छ । सबैको विचार समेटेर सम्झौताको रुपमा आउँछ । संविधान निर्माण प्रक्रियामा असहमत रहेका केही मधेसवादी शक्ति र राप्रपा नेपाल लगायतका धार्मिक एजेन्डा बोकेका शक्तिसँग अब समझदारीको प्रक्रिया कसरी अगाडि बढ्छ ? केही मधेसवादी शक्ति र राप्रपा नेपाललगायतका धार्मिक एजेन्डा बोकेका शक्तिसँग परिवर्तनका एजेन्डामा तलमाथि भएको भए समझदारी हुन्छ । तर, त्यसो भन्दैमा राष्ट्रिय एकता, अखण्डता र आपसी सद्भाव बिथोल्ने प्रयत्न सफल बनाउन भने सम्झौता गर्नु हुँदैन । उनीहरु पनि त जनताको अभिमतबाटै आएका हुन् ।
संविधानसभामा आएका सबै शक्तिहरु जनताको अभिमतबाटै आएका हुन् । तर, कुनै कारणले जनताले मत दिए भन्दैमा वर्षों एउटै विषयमा बखेडा गर्नुपनि हुँदैन । जुन प्रयत्न अहिले भइरहेको छ । त्यसो भनेर चार दललेमात्रै संविधान बनाउन मिल्दैन । परिवर्तनमा सहमत भएका शक्तिको समझदारीलाई मात्र चारदलको प्रमुख मान्नु हुन्न । चार दल सहमतिको आधारमा एक ठाउँमा उभिएका हुन्, उनीहरुले परिवर्तनको एजेन्डा बोकेका छन् । त्यसैले परिवर्तन विरोधीका हर्कतलाई के गर्ने भनेर समय खेर फाल्नु हुँदैन । धेरै सुझाव आएको हिन्दू धर्म राष्ट्र बनाउने मागमा पनि कुनै सुनुवाइ नहुने भयो हैन । गर्भबाट निस्केको बच्चालाई गर्भमै पठाउन सकिँदैन । राज्य धर्मको आधारमा बन्दैन र चल्दैनपनि । राज्यभित्र धर्म मान्ने जनताहरु बराबर हुन्छन् । राज्यले धर्म मान्दैन । तर धार्मिक स्वतन्त्रता हुन्छ । गौतम बुद्ध जन्मेको देश बुद्धिस्ट धर्मको देश किन भएन भनेर सोधे के भन्ने ? धेर र थोरको कुरा गर्ने हो भने संसारका सबैभन्दा बढीले बुद्ध धर्म मान्छन् । बुद्ध धर्म चाँही हाम्रो देशको उद्गमस्थल होइनर ?
सामन्ती राजतन्त्र रहेको अवस्थामा शाहीवंशले मात्रै हिन्दू धर्मराष्ट्र भनेको हो । प्रदेशको सिमांकन र नामांकनमा पनि बढी जिज्ञासा र सुझाव आएका छन् । अब कसरी सम्बोधन गर्ने भन्ने सन्दर्भ सबैभन्दा वढी महत्वपूर्ण छ । धेरैले उत्तर दक्षिणको सिमांकन सहितको प्रदेशको कुरा जोडिरहेका छन् । त्यतातिर मात्र ध्यान दिने हो भने त्यसलाई महेन्द्र पथ भनिन्छ । त्यो त खासमा एउटा सामान्य सोचइको कुरा मात्र हो र कतिपयको सोचाइमात्र । नेपालको परिचय हिमाल, पहाड र तराई नै हो । हिमाल, पहाड वा तराईलाई निकाले नेपाल हुँदैन । चीन र भारतमध्ये एउटाको मात्र डोमिनेसन अन्त्य गर्न, दुवै देशबाट विकासमा सहयोग जुटाउन र राष्ट्रिय एकतामाथि ठाडो हस्तक्षेप हुन नदिन उत्तर दक्षिण सिमांकन एक हिसाबले उचित सुझाव हो । जनताको सुझावलाई कसरी सम्बोधन गर्ने र जनताको सुझावलाई एकीकृत गरेर एउटा निष्कर्ष निकाल्ने कुरा सबैभन्दा महत्वपूर्ण छ ।” सुझावहरु खेर जाने छैनन् । संविधान सम्झौताको दस्तावेज भएकाले कसैका समेटिन सक्छन् । कसैका नसमेटिन सक्छन् । तर, चित्त नबुझे आगामी संसदमा दुई तिहाई मत दिएर संशोधन गर्न सकिन्छ ।”