सामी कार्यक्रम जिल्लाका १३ वटै पालिकामा सञ्चालन

धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै पालिकाबाट बैदेशिक रोजगारमा जाने नागरिकहरुका लागि सुरक्षित आप्रवासन कार्यक्रम मार्फत सहयोग पु¥याउने उदेश्यले परिचयात्मक तथा अन्तर स्थानीय सरकार समन्वय बैठक धुलिखेलमा सम्पन्न भएको छ ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव विरेन्द्रदेव भारतीको प्रमुख आतिथ्यता रहेको थियो ।

सचिव भारतीले बैदेशिक रोजगारमा जाने नेपालीहरुको अवस्था, त्यसबाट उत्पन्न परिणाम, राज्यमा पु¥याएको योगदान, नेपालीहरुले भोगिरहेका समस्या तथा सामी कार्यक्रम मार्फत स्थानीय तहले गर्नु पर्ने दायित्व र जिम्मेवारीका बारेमा जानकारी गराएका थिए । सामी परियोजनाका रुपमा २०११ बाट नेपालका केहि जिल्लामा संचालन भएको थियो ।

पछिल्लो चरणमा सामी कार्यक्रम अर्थात सुरक्षित आप्रवासन कार्यक्रमका रुपमा चौथो चरणमा देशभरका सबै जिल्ला र पालिकामा संचालन गर्ने गरी प्रारम्भ भएको छ । स्वीस सरकार विकास सहयोग एसडिसी मार्फत प्राप्त सहयोग र नेपाल सरकारको संयुक्त साझेदारीमा संचालन भएको कार्यक्रममा स्थानीय सरकारले पनि बजेट ब्यवस्थापन गरिरहेका थिए । प्रदेश सरकारले पनि उक्त कार्यक्रमलाई सहयोग गर्ने गरी तयारी गरिएकाले स्थानीय तहमा सामी कार्यक्रमबाट गरिनु पर्ने कार्य तथा जिम्मेवारीका बारेमा अन्तर स्थानीय सरकार समन्वय बैठकमा जानकारी गराईएको हो ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले धुलिखेलमा संचालन भएको उक्त कार्यक्रमले बैदेशिक रोजगारमा जान चाहनेहरुका लागि पुगेको सहयोग, नागरिकहरुका लागि प्राप्त उपलब्धी, सीप, ज्ञान, क्षमता तथा वित्तिय र सामाजिक क्षेत्रमा परेको प्रभावका बारेमा जानकारी गराउँदै अन्य पालिकाहरुका लागि पनि धुलिखेल लगायतका केहि पालिकाहरु नमुना हुन सक्ने बताए ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा राहदानी बनाउने क्रममा नागरिकहरुलाई बैदेशिक रोजगारका बारेमा सचेतना तथा अभिमुखीकरण गराउने गरिएको छ । धुलिखेल, भुम्लु, रोशी र मण्डनदेउपुरमा यस अघि नै उक्त कार्यक्रम संचालन भएको थियो ।

वित्तिय साक्षरता, मनोविर्मश, सीप तथा परामर्श लगायतका कार्यक्रम सामीबाट हुँदै आएको धुलिखेल नगरपालिकामा सहजीकरण गरिरहेको संस्था सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत बसन्त कुँवरले बताए ।

कार्यक्रममा जिल्लाका १३ वटै पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समिति तथा शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो । हेल्भिटास लगायतका संस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

आर्थिक वर्ष २०८०/२०८१ मा काभ्रेपलाञ्चोक जिल्लाबाट ११ हजार ८ सय ३७ नेपालको विमानस्थल प्रयोग गरेर बैदेशिक रोजगारमा पुगेको तथ्यांक छ । नेपालीहरुले तेश्रो दोश्रो मुलुक मार्फत तेश्रो मुलुक जाने गरी बैदेशिक रोजगारमा गएका तथ्यांकहरु यसमा समावेश छैनन ।

२०७७/२०७८ मा नेपालमा १ सय ७७ जना ब्यक्तिहरु बैदेशिक रोजगारका क्रममा मृत्यु भए पछि स्वेदशमा शव फकाईएको तथ्यांक २०८०/२०८१ मा बढेर ६ सय ५३ पुगेको छ । नेपालबाट विशेषगरी १० वटा गन्तब्य मुलुकमा बैदेशिक रोजगारीमा जाने गरेका छन् ।