भालेश्वर माध्यमिक विद्यालय पनौतीमा शैक्षिक मेला

पनौती नगरपालिका वडा नम्बर ८ मा रहेको जिल्लाकै नमूना सामुदायिक विद्यालय भालेश्वर माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले तयार पारेका शैक्षिक सामाग्रीहरुको प्रदर्शन गरी सिकाई आदानप्रदान गर्ने उदेश्यले शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो ।

विद्यार्थीको सिर्जना प्रस्तुत गर्ने अवसरका रुपमा समेत शैक्षिक प्रदर्शनी आयोजना गरिएको प्रधानाध्यापक रामचन्द्र थापाले जानकारी दिए । विद्यालयले गरिरहेको सिकाई अनुभव साटासाट गर्ने र सल्लाहसुझाव लिने उदेश्यले प्रदर्शनी आयोजना गरिएको उनले बताए ।

विद्यालयले हरेक वर्ष फागुन ९ गते शैक्षिक प्रदर्शनी गर्ने गरेको छ । विद्यार्थीले अध्ययनका क्रममा नेपाली, अंग्रेजी, सामाजिक, विज्ञान गणित विषयमा सिकेका विषयवस्तुलाई प्रदर्शनीमार्फत कलाको रुपमा प्रस्तुत गरेका छन् ।

कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीले वाटर रकेट लगायत सौर्यमण्डल सम्बन्धी विभिन्न विषय प्रस्तुत गरेका छन् । यस्तै व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीले खानाका परिकारको स्टल राखेका थिए । संस्कृतिको जगेर्ना गर्ने उदेश्यले धिमे बाजा लगायत परम्परागत बाजाहरु, नेपाली जनजीवन झल्कने ढिकी, जाँतो, डोको लगायतका परम्परागत सामाग्री समेत प्रदर्शनीमा राखिएको थियो । शिक्षाका नविनतम प्रविधि पनि प्रदर्शनीमा राखिएको थियो ।

किताव मात्रै पढ्ने होइन पढेका कुरालाई सिकाईका रुपमा ग्रहण गर्न सक्ने बनाउने उदेश्यले शैक्षिक मेला आयोजना गरिएको प्रधानाध्यापक थापाले बताएका छन् ।

पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी, उप–प्रमुख गिता बञ्जारा, नगरपालिकाका शिक्षा शाखका प्रमुख एवं प्रतिनिधि, पनौती नगर क्षेत्रका सम्पुर्ण विद्यालय र छिमेकी पालिकाका विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावकले मेला अवलोकन गरेका छन् ।

भालेश्वर मावि प्रदेशकै नमुना विद्यालयको रुपमा सम्मानित भइसकेको विद्यालय हो । भालेश्वर माविले शिक्षणमा नविनतम विधी मार्फत अध्यापन गराइरहेको छ । सँस्कार सहितको शिक्षामा समेत विद्यालयले जोड दिएको छ । भालेश्वर माविमा बाल विकास तहदेखि कक्षा १२ सम्म करिव ११ सय जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

तस्बिरहरुः