धुलिखेल–४ बाट जेष्ठ नागरिक र एकल महिलालाई देवघाट धार्मिक यात्रा

धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ ले जेष्ठ नागरिक र एकल महिलाहरुलाई देवघाट त्रिवेणीधाम यात्रा गराएको छ । शुक्रबार वडा भित्र रहेका मध्ये स्वास्थ्य सहज भएका १ सय २५ जना नागरिकहरु धार्मिक यात्रामा गएका छन् ।
वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिनाले गत आर्थिक वर्षहरुमा जेष्ठ नागरिकहरुका लागि घिउ, फाईबर सिरक तथा विभिन्न सामग्रीका साथ सम्मानको कार्यक्रम आयोजना गरिएको थियो । यो वर्ष देवघाट धाम तथा धार्मिक यात्रा गराईएको अध्यक्ष तिमल्सिनाले बताए ।
वडा कार्यालय आफैले ब्यवस्थापन गरी दुई दिने धार्मिक यात्रामा जेष्ठ नागरिक र एकल महिलाहरुका लागि सहज बनाईएको उनले बताए । ‘घरबाट बाहिर निस्कन विविध कारण असहज भएका तथा सामुहिक रुपमा धार्मिक यात्रा गर्दा अनुभव आदान प्रदानमा समेत सहजता हुने भएकाले दुई दिनेकार्यक्रम आयोजना गरिएको हो’–अध्यक्ष तिमल्सिनाले भने–‘यात्रा सहजताका लागि स्वास्थ्यकर्मी र स्वयंसेवक समेत समावेश गरिएको छ ।’ तीनवटा बसमा जेष्ठ नागरिक र एकल महिलाका साथै जनप्रतिनिधिहरु समेत सहभागि छन् ।
धार्मिक यात्रुहरुलाई नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख निराजन जंगम, वडा अध्यक्ष उत्तमप्रसाद तिमल्सिना, वडा सचिव सुनिता चौलागाई, जनप्रतिनिधिहरुले विदाई गरेका थिए । नगर प्रमुख ब्याञ्जुले यात्रा सफलताको कामना गर्दै अनुभव आदानप्रदान गर्न सुझाव दिए ।






