धुलिखेलमा पूर्ण क्षति भएका ९८ घर परिवारलाई राहत, वडा नम्वर ८ बाट वितरण शुरु

धुलिखेल/असोज १०–१२ मा परेको अविरल वर्षातका कारण नागरिकहरुले जनधनको क्षति ब्यहोर्नु परेको विषम परिस्थितीलाई मध्यनजर गर्दै तत्कालका लागि अस्थायी राहतका लागि स्थानीय सरकारको सक्रियता निरन्तर देखिएको छ । धुलिखेल नगरपालिकाले युनिसेफ नेपालको सहयोगमा पहिलो चरणमा वडा नम्वर ८ मा पूर्ण क्षति भएका ३१ घर परिवारलाई राहत उपलब्ध गराएको छ ।

नगर प्रमुख अशोक ब्याञ्जुले वडा कार्यालयमा पुगि ३१ घर परिवारलाई युनिसेफ नेपालबाट नेपाल सरकारको मापदण्ड अनुसार ५ जना घर परिवारका लागि १५ हजार र त्यस भन्दा थप घर परिवारका लागि थप १० हजार रकम उपलब्ध गराएको जानकारी गराए ।
नागरिकहरुको तत्काल खोज, उद्धार, उपचार लगायतका आपतकालिन सहयोग उपलब्ध गराएको बताउँदै नगर प्रमुख ब्याञ्जुले नागरिकहरुलाई सहज यात्राका लागि अवरोध पुगेका सडकहरु संचालन गर्दै ब्यक्तिगत क्षति पुगेका घर, बारी तथा अन्य संरचनामा क्रमशः आवश्यक र सक्दो सहयोग तथा समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।
संघीय सरकारलाई पटक पटक संकटग्रस्त पालिका घोषणा गर्न गरिएको अनुरोध अस्विकार भएको, स्थानीय श्रोत र साधनबाट प्राप्त रकम, विनियोजित बजेट कटौती गरी विपद पछिको अवस्था सम्बोधन गर्ने प्रयत्न गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, वडा अध्यक्षहरु विनोद गौतम, गोविन्द उपाध्याय, मोहनप्रसाद लामिछाने, लेखा अधिकृत भवानीप्रसाद मिश्र, वडा सचिवहरु, इन्जिनियर हरिचन्द्र लामिछाने लगायतको सहभागिता रहेको थियो ।
वडा अध्यक्ष विनोद गौतमले नागरिकहरुको दुखमा थोरै भए पनि सहयोग पु¥याउन सकिएको बताए । धुलिखेल नगरपालिकाले सरकारले उपलब्ध गराएको पोर्टलमा पूर्ण क्षति भएका घर परिवारको संख्या ९८ दर्ता गराएको छ भने आंशिक क्षति ५ सय ७६ घर परिवार रहेका छन् । पूर्ण क्षति भएका घर परिवारलाई पहिलो चरणमा सहयोग रकम ब्यक्तिगत खातामा जम्मा गरिएको छ ।