न्याय क्षेत्र: ‘अन्याय’मा महिला

नेपालको संविधान (२०७२) लैङ्गिक मैत्रीपूर्ण छ । संविधानमा उल्लेख भएका कयन विषय कानूनका रुपमा तयार हुन बाँकी छ । तर पनि समानताको दृष्टिले संविधान लैङ्गिक मैत्रीपूर्ण छ । नागरिकता प्राप्त गर्ने र प्रदान गर्ने, विवाह, सम्बन्धविच्छेद, बच्चा जम्माउने, गर्भपतन, प्रजनन स्वास्थ्य, सम्पत्तिमा अधिकार, शिक्षा, रोजगार, जीउ, आवास र चरित्र सुनिश्चित, विभिन्न प्रथा, परम्परा र संस्कारको नाममा महिलामाथि हुने शोषण र हिंसाको अन्त्य, घरायसी हिंसा, घरभित्र गर्ने श्रमको सही मूल्याङ्कन, विधवा तथा एकल महिलासम्बन्धी नीति नियमका सन्र्दभमा संविधानमा ब्यवस्था छ । 
महिलाको आर्थिक, सामाजिक र राजनीतिक अधिकारको पूर्णरूपमा सुनिश्चितता आवश्यक छ । महिला भएकै कारणले महिलामाथि हुने शोषण र हिंसा अन्त्य गर्ने र पीडित न्यायप्रणालीमा आधारित कानुनी व्यवस्था निर्माण गर्ने ग्यारेन्टी पनि संविधानले गरेको छ । मानव बेचबिखन तथा ओसारपारजस्ता शोषणलाई रोक्ने व्यवस्था संविधानले गरेको छ । घरभित्र र निजी क्षेत्रमा हुन हिंसामा राज्यलाई उत्तरदायी बनाउने संवैधानिक संरचनाको आवश्यकता छ । निर्णायक तहमा महिला सहभागिताको सुनिश्चितता संविधानले ब्यवस्था गरे पनि हुन सकेको छैन । 
दरवन्दी र पदपूर्तिको अवस्था
हरेक नागरिकलाई न्याय दिने न्याय क्षेत्र अर्थात अदालतका विभिन्न क्षेत्रमा महिलाहरुको सहभागिता न्यून छ । कतै पद नै सिर्जना गरिएको छैन भने भएको स्थानमा पनि महिलाहरुको सहभागिता छैन । सहभागिता भएका पदहरुमा समेत न्यून सहभागिता छ । सर्वाेच्च अदालत कर्मचारी प्रशासनमा रहेको अदालतमा कार्यरत जनशक्तिको दरवन्दी र पदपूर्तिको विवरणमा भएको तथ्यांकले त्यहि पुष्टी गरेको छ । अदालतमा पाँचवटा समुह कायम गरिएको छ । सबै समुहमा महिलाहरुको सहभागिता संविधानले गरेको ब्यवस्था अनुसार हुन सकेको छैन । संविधान कार्यान्वयन गर्ने दायित्व समेत बोकेको सर्वाेच्च अदालत तथा मातहतका क्षेत्रहरुमा महिलाहरुको सहभागिता न्यून रहनु अर्काे चुनौती हो । सर्वाेच्च अदालत सहित देशभरका अदालतमा ६ हजार ७ सय १२ वटा दरवन्दी छन् । जसमध्ये ३ हजार ६ सय ७५ पदमा पुरुष र ९ सय ९६ वटा पदमा महिला स्थायी दरवन्दीमा कार्यरत छन् । १ हजार ४० पुरुष र ४ सय ३० महिला करारमा कार्यरत छन् । ६ हजार १ सय ४१ पदमा कार्यरत रहँदा ५ सय ८२ पद अझै पदपूर्ती हुन सकेको छैन । न्याय समुहमा ४ सय ६८ न्यायाधीशको दरवन्दी रहेकोमा ३ सय ७३ जना पुरुष र ४६ जना महिला न्यायाधीश कार्यरत छन् । अझै ४९ वटा न्यायाधीशका पद रिक्त छन । ४ सय १९ वटा पदमा मात्रै न्यायाधीशहरु कार्यरत छन् । 
सर्वाेच्च अदालतमा न्याय समुहमा २१ जनाको स्थायी दरवन्दीमा १५ पुरुष र २ महिला न्यायाधीश कार्यरत छन् । ४ जना न्यायाधीश अझै रिक्त छन् । विशिष्ट श्रेणीका कर्मचारीहरुमा ३ वटा दरवन्दी रहेकोमा ३ जना नै पुरुष छन् । महिला छैनन । रा.प प्रथम तहमा ८ वटा दरवन्दीमा ६ जना स्थायी दरवन्दीमा पुरुष नै छन् । २ पद रिक्त छ । रा.प.द्धितिय तहमा ११९ वटा दरवन्दीमा ८५ जना पुरुष र १७ जना महिला स्थायी छन् । १०२ पद खाली छ । रा.प.तृतीय तहमा ११८ दरवन्दीमा ५० जना पुरुष र ५६ जना महिला कार्यरत छन् । १०६ जनाको पद खाली छ । त्यस्तै रा.प.अ.प्रथम १२३ दरवन्दीमा ७१ पुरुष र ४२ जना महिला कार्यरत छन् । ११३ पद खाली छ । रा.प.अ.द्धितीय तामेलदारमा १४ दरवन्दी मध्ये १० पुरुष र ४ महिला छन् । लेखा समुहमा ६ वटा दरवन्दीमा ४ पुरुष र १ महिला कार्यरत छन् । कम्प्युटर अपरेटर÷टाईपिस्ट, अन्य प्राविधिक र सहयोगी समेत गरी सर्वाेच्च अदालतमा ५९० वटा दरवन्दी कायम छन् । २७५ जना पुरुष, १ सय ३५ जना महिला स्थायी पदमा कार्यरत छन् । ८४ पुरुष र ३२ महिला करार पदमा कार्यरत छन् । ५२६ जना कार्यरत रहेकोमा ६४ पद अझै खाली छ । उच्च अदालतमा न्यायाधीशको दरवन्दी १६० रहेको छ । १२५ जना पुरुष न्यायाधीश कार्यरत छन् । २४ जना महिला न्यायाधीश कार्यरत छन् । ११ जना न्यायाधीशको पद रिक्त छ । जिल्ला अदालतमा २८४ जनाको दरवन्दी रहेकोमा २३० पुरुष र २० जना मात्रै न्यायाधीश महिला छन् । ३४ वटा जिल्ला न्यायाधीश पद रिक्त छ । अन्य अदालत तथा न्यायाधिकरणमा न्यायाधीशको पद सिर्जना गरिएको छैन । न्याय परिषद्मा ३ वटा दरवन्दी मध्ये ३ जना नै पुरुष न्यायाधीश कार्यरत छन् । 
सर्वाेच्च अदालत, फैसला कार्यान्वयन इकाई, उच्च अदालत, जिल्ला अदालत अन्य अदालत, न्यायाधिकरण र न्याय परिषदमा विशिष्ट श्रेणीका सचिव ४ जना पुरुष छन् । जहाँ महिलाको सहभागिता शुन्य छ । त्यस्तै सह सचिव पदमा १९ कार्यरत रहेकोमा एक जना मात्रै महिला कार्यरत छन् । १८ जना पुरुष कार्यरत छन् । उप सचिव २ सय ७ कार्यरत मध्ये १ सय ८२ जना पुरुष र २५ जना महिला कार्यरत छन् । त्यस्तै शाखा अधिकृत ८ सय २२ कार्यरत मध्ये पुरुष ५ सय ४८ र महिला २ सय ७४ जना छन् । सुब्बा १३९४ मा पुरुष १०९६ र महिला २९८ मात्रै कार्यरत छन् । डिठ्ठा पदमा ७४७ कार्यरत मध्ये पुरुष ४७६ र महिला १३७ कार्यरत छन् । तामेलदार पदमा ७०९ कार्यरत मध्ये पुरुष ४६९ र १०८ मात्रै महिला कार्यरत छन् । यि सबै स्थायी दरवन्दीमा कार्यरतहरुको संख्या हो । 
न्याय क्षेत्रमा महिला सहभागिता
अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसको अवसरमा महिला न्यायाधीश सम्मेलन २०८१ आयोजना भयो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत स्वंय सहभागि भई न्याय क्षेत्रका सन्र्दभमा महिलाहरुको अवस्था र भूमिकाका बारेमा विचार ब्यक्त गरी हौसला प्रदान गर्नु भयो । पूर्वप्रधानन्यायाधीश तथा न्यायाधीशहरू, सर्वाेच्च, उच्च र जिल्ला अदालतका बहालवाला महिला न्यायाधीशहरूको समेत सहभागितामा भएको सम्मेलन न्याय क्षेत्रमा महिला सहभागिता सँगै ब्यवसायीक दक्षताका लागि पनि कोसेढुंगा बन्न पुग्यो । सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल लगायतले महिला न्यायाधीशका अनुभव तथा कार्यगत चुनौती तथा व्यवस्थापन र व्यावसायिक क्षमता अभिवृद्धिका सम्बन्धमा विचार आदानप्रदान गरेका थिए । २०८० चैत्र ९ गते नेपालमा पहिलो पटक महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन भएको थियो । यसले पनि नेपालमा न्याय क्षेत्रमा महिलाहरुको सक्रियता, सहभागिता र ब्यवसायिकतामा क्षमता अभिबृद्धीका कार्य शुरुवात भएको देख्न सकिन्छ । 
पहिलो सम्मेलनमा ‘न्यायिक प्रणालीमा लैंगिक समानताको अभिवृद्धि हाम्रो प्रतिबद्धता’ भन्ने नारामा केन्द्रित रहेर छलफल गरिएको थियो । त्यतिबेला  सर्वाेच्च अदालत, उच्च अदालतल र जिल्ला अदालतमा कार्यरत ४३ न्यायाधीश सहित पूर्वमहिला न्यायाधीशहरू र सर्वाेच्च अदालतका न्यायाधीशहरूकोे सहभागिता रहेको थियो । त्यतिबेला पनि न्यायिक समुदाय भित्र सहकार्य, सशक्तिकरण र समान सहभागिताका लागि वकालतको विषयमा गम्भिर बहस भएको थियो । महिला न्यायाधीशहरूले अनुभव गरेका चुनौतीहरूको पहिचान, चुनौती व्यवस्थापनका सवाल र व्यावसायिक क्षमता विकासका लागि सम्मेलन विचारको आदानप्रदान भएको थियो । त्यतिबेला सर्वाेच्च अदालतमा तीन, उच्च अदालतमा एक मुख्य न्यायाधीश सहित २२ र जिल्ला अदालतमा १८ महिला न्यायाधीश थिए । कुल न्यायाधीश संख्याको १०.५३ प्रतिशतको संख्यामा रहेका महिला न्यायाधीशहरूले संख्या र प्रतिशतमा निरन्तर वृद्धि हुँदै जाने विश्वास व्यक्त गरेको भए पनि सर्वाेच्च अदालतमा अहिले दुई जना मात्रै न्यायाधीश छन् । संवैधानिक र कानूनी ब्यवस्था गरिएको भए पनि विविध कारणवश महिलाहरुको सहभागिता बढ्न कठिन हुने गरेको छ । नेपालको पहिलो प्रधानन्यायाधीश सुशिला कार्की हुन् । दलित महिला न्यायाधीश मनकुमारी जीएम विक पहिलो हुन् । 
राज्यका प्रत्येक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि न्याय क्षेत्रमा अहिले पनि महिलाको संख्या न्यून छ । पछिल्लो समय न्याय क्षेत्रमा पनि महिलाहरुको आकर्षण केही बढेको देखिएको छ । व्यवस्थापिका बाहेक कार्यपालिका र न्यायपालिकामा महिलाको समानुपातिक र समावेशिताको सिद्धान्त अनुरुप महिला हक सुनिश्चितता भए पनि सहभागिता पनि न्यून नै छ । कानुन व्यवसाय गर्नका लागि अनुमति दिने संस्था नेपाल कानुन व्यवसायी परिषद्को तथ्याङ्कअनुसार कानुन व्यवसायीको प्रमाणपत्र लिएका कानुन व्यवसायीहरु वरिष्ठ अधिवक्तामा महिला न्यून छन् । पछिल्लो २०८० को तथ्यांकले भएका कानून ब्यवसायीहरु मध्ये करिव ७ प्रतिशत मात्रै छन् । कानुन ब्यवसायी परिषद्को प्रमाणपत्र लिने महिलाको संख्या भने करिव २० प्रतिशत पुगेको छ । न्याय क्षेत्रमा प्रवेश गर्ने ढोकाका रूपमा नेपाल कानुन व्यवसायी परिषद्को प्रमाणपत्र लिने महिलाको संख्या बढेकाले पनि न्याय क्षेत्रमा महिलाको आकर्षण बढ्दै गएको पुष्टी हुन्छ । विगतमा भन्दा अहिले न्यायमा आकर्षण बढ्दै गएको छ  । नेपालको प्रथम महिला कानुन व्यवसायी शान्तिदेवी थापा हुन । उनले अभिकर्ताका रुपमा काम गरेकी थिइन । नेपालको प्रथम अधिवक्ता, वरिष्ठ अधिवक्ता तथा सर्वाेच्च अदालतको न्यायाधीश सुशीला सिंह शिलु हुन । 
न्याय क्षेत्रमा महिला सहभागिता कम छ । राज्यको अरू निकायमा पनि ३३ प्रतिशत नै त छैन, व्यवस्थापिकका संसमा मात्र त्यो संख्या ३३ प्रतिशत पुगेको छ । जिल्ला अदालतमा परीक्षा दिएर आउन सक्ने संवैधानिक व्यवस्थाका कारण महिलालाई त्यहाँबाट पनि न्याय क्षेत्रमा आउन बाटो खुलेको छ । न्याय सेवामा अलि बढी मेहनत गर्न जरुरी पर्छ । नयाँ आउने पुस्ताहरुको आकर्षण न्यायमा राम्रो छ । आगामी दिनमा राम्रो सहभागिता हुने देखिन्छ । कलेज पढ्दा देखि नै महिलालाई न्यायमा प्रोत्साहन गर्नुपर्ने देखिन्छ । सरकारी वकिलमा पनि महिला सहभागिता बढ्दो छ । न्याय सेवामा आउने अर्काे बाटो भनेको सरकारी वकिल हो । सरकारी वकिलमा पनि पहिला महिला औँलामा गन्न सकिने थिए । अहिले सरकारी वकिल आउने महिलाको संख्या निकै बढेको छ । सरकारी वकिलको सबैभन्दा माथिल्लो तहमा सहन्यायाधिवक्तामा रमा पराजुली पुगेकी थिईन् । सरकारी वकिलमा उनी आउँदा नायब महान्यायाधिवक्ता शारदा बज्राचार्य मात्रै थिइन । शारदाको अनिवार्य अवकाशपछि २०६३ सालसम्म शाखा अधिकृत रमा एक्लै थिइन । नेपालको संविधान र समावेशीसम्बन्धी लोकसेवा आयोगको कानून आएपछि महिलाको संख्यामा वृद्धि भएको हो । नेपालको संविधानअनुसार तीन तहको न्यायालयको व्यवस्था छ । सर्वाेच्च, उच्च  र जिल्ला अदालत । सात प्रदेशमा सातवटै उच्च अदालत रहेका छन् । 
महिला सहभागिताको अवस्था 
स्थानीय तहको निर्वाचन २०७९ मा ४१.२ प्रतिशत महिला निर्वाचित भएका छन् । महिलाको प्रतिनिधित्व न्यून रूपमा बढेको छ । स्थानीय निर्वाचन २०७४ को तुलनामा २०७९ वैशाख ३० मा सम्पन्न निर्वाचनबाट चुनिएका महिला १ प्रतिशत बढी छन । बाध्यात्मक बाहेक प्रमुख पदमा महिला जनप्रतिनिधिको संख्या केही बढेको छ । २०७९ सालमा देशभरबाट १४ हजार ४ सय २ महिला जनप्रतिनिधि निर्वाचित भएका छन । गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख पदमा २५ महिला विजयी भएका छन । २०७४ सालमा प्रमुख पदमा १८ महिला निर्वाचित भएका थिए । २०७९ मा ७ सय ५३ स्थानीय तहमा ३५ हजार १२ जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार २०७४ मा भन्दा २०७९ मा ५५ महिला बढी जनप्रतिनिधिमा चुनिएका छन । जनप्रतिनिधिमा महिलाको संख्या न्यून रूपमा बढी देखिए पनि बाध्यात्मक पद बाहेकका पदमा पनि महिला उल्लेखनीय रूपमा वृद्धि हुन सकेनन । २०७९ सालको निर्वाचनमा देशभरबाट महिला उम्मेदवार ५५ हजार ६ सय ९९ जना थिए । विभिन्न पालिकाका वडामा १ सय २३ दलित महिला सदस्य पद खाली रहेको छ । उम्मेदवारी दिएका मध्ये २० हजार ६ सय ८७ महिला पराजित भए । 
नगर, उपमहानगर, महानगरपालिका प्रमुखमा १३ जना, गाउँपालिकाको अध्यक्षमा १२ जना तथा नगर, उपमहानगर, महानगरपालिकाका उपप्रमुखमा २ सय ३० जना महिला निर्वाचित हुँदा गाउँपालिका उपाध्यक्षमा ३ सय ३५ जना चुनिएका छन । प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष गरी ५ सय ६५ महिला निर्वाचित भएका छन । देशभरका ६९ वटा वडाको नेतृत्व महिलाले पाएका छन । त्यसैगरी अनिवार्य गरिएका महिला सदस्यमा ६ हजार ७ सय १३, दलित महिला सदस्यमा ६ हजार ५ सय ९४ जना निर्वाचित भएका छन । खुलाबाट सदस्यमा ४ सय १२ निर्वाचित भएका छन् । जनप्रतिनिधिमा विजयी महिलामा २१ देखि ९० वर्ष उमेरका छन । तीमध्ये २१ देखि ३० वर्ष उमेर समूहका १ हजार ९ सय ८० जना, ३१ देखि ४० सम्मका ५ हजार २ सय ७९ जना, ४१ देखि ५० वर्षसम्मका ४ हजार ३ सय १७ जना निर्वाचित भएका छन । त्यसैगरी ५१ देखि ६० वर्ष उमेर समूहका २ हजार ८६ जना, ६१ देखि ७० वर्षसम्मका ४ सय ७२ जना, ७१ देखि ८० वर्षसम्मका ६२ जना र ८१ देखि ९० वर्षसम्मका तीन जना विभिन्न पदमा विजयी भएका छन । २०७४ सालमा कुल १ लाख ४८ हजार ३ सय ६४ जना चुनावी प्रतिस्पर्धामा थिए । तीमध्ये ५७ हजार ८ सय ४३ जना महिला र ९० हजार ५१९ जना पुरुष र दुईजना तेस्रो लिंगी उम्मेदवार थिए । त्यतिबेला देशभरिका जम्मा १८ पालिका हाँक्ने मौका महिलाले पाएका थिए । देशभरबाट १४ हजार ३ सय ५३ महिला निर्वाचित हुँदा उप प्रमुख र उपाध्यक्षमा ७ सय महिलाले अवसर पाएका थिए ।  वडाध्यक्षमा ६२ महिला मात्र चुनिएका थिए । ६ हजार ७ सय ४२ महिला सदस्य, ६ हजार ५ सय ६७ दलित महिला सदस्य निर्वाचित भएका थिए । खुला सदस्यबाट जम्मा २ सय ६४ जना महिला निर्वाचित भएका थिए । यसपाली निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलबाट गरी प्रमुख, अध्यक्ष, वडाध्यक्ष पदमा १ हजार ३ सय ३२ महिलाको उम्मेदवारी परेको थियो । तीमध्ये सबैभन्दा बढी एमालेले २४ जना प्रमुख, २७ जना अध्यक्ष र १ सय १८ जना वडाध्यक्ष पदमा महिला उम्मेदवार बनाएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रमुखमा २४, अध्यक्षमा १४, वडाध्यक्षमा १ सय १४ महिलालाई चुनावी प्रतिस्पर्धामा उठाएको थियो ।
नेकपा माओवादी केन्द्रबाट प्रमुखमा १० जना, अध्यक्षमा १३ र वडाध्यक्षमा ८३ महिलाले उम्मेदवार बन्ने अवसर पाएका थिए । नेपाली कांग्रेसले प्रमुखमा ११ जना, अध्यक्ष १४ र वडाध्यक्षमा ७९ महिलालाई उम्मेदवार बन्ने अवसर दिएको थियो । त्यसैगरी नेकपा एकीकृत समाजवादीले प्रमुखमा १६ जना, अध्यक्षमा ६ जना, वडाध्यक्षमा ५९ जना महिला, जनता समाजवादी पार्टी (जसपा) ले प्रमुखमा ११, अध्यक्षमा आठ र वडाध्यक्षमा ५४ जनालाई उम्मेदवार बनाएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रमुखका लागि पाँच, अध्यक्षका लागि तीन र वडाध्यक्षका लागि ३७ महिलाको उम्मेदवारी दर्ता गराएको थियो । २०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धन बनेकाले उपप्रमुखमा महिलाको उम्मेदवारी कम परेको थियो । विभिन्न दलहरूबीच चुनावी तालमेल भएका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकामा एउटै दलबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता नहुँदा महिला प्राथमिकतामा पर्न सकेनन । त्यसकारण बाध्यात्मक बाहेकका पदमा अपेक्षाअनुसार महिलाले जित्न नसकेका हुन् । 
२०७९ मा प्रतिनिधि सभा तर्फ ३३ प्रतिशत र प्रदेश सभातर्फ ३६ प्रतिशत महिला निर्वाचित भएका छन् । निर्वाचन आयोगले तयार गरेको निर्वाचन परिणाम प्रतिवेदन अनुसार प्रतिनिधि सभामा जम्मा २ सय ७५ जना निर्वाचित हुँदा पुरुष ६६.९० प्रतिशत अर्थात १८४ जना निर्वाचित भएका हुन् भने महिला ३३.१० प्रतिशत अर्थात् ९१ जना निर्वाचित भएका हुन् । यस्तै प्रदेशसभातर्फ पुरुष ६३.६४ प्रतिशत अर्थात ३५० जना निर्वाचित भएका छन् भने महिला ३६.३६ प्रतिशत अर्थात् २०० जना निर्वाचित भएका छन् । प्रतिनिधि सभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० जना गरी जम्मा ८२५ जना निर्वाचित भएका छन् । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २२५ जना महिला र २ हजार १ सय ८६ पुरुष गरी जम्मा २ हजार ४११ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो । प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार १८७ महिला र १ हजार १२ पुरुष गरी २ हजार १९९ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरिएको थियो । प्रदेश सभातर्फ भने प्रत्यक्षतर्फ २८० जना महिला, २ हजार ९४३ पुरुष र अन्य १ जना गरी ३ हजार २२४ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो प्रदेश सभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ५११ महिला र २ हजार १९७ पुरुष गरी जम्मा ३ हजार ७०८ जना उम्मेदवारको अन्तिम बन्द सूची कायम गरेको थियो । यस अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीका लागि जम्मा उम्मेदवारको संख्या ११ हजार ५४२ थियो । प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ८६ वटा राजनीतिक दल दर्ता भएकोमा प्रत्यक्षतर्फ ६१ वटा राजनीतिक दल र समानुपातिक निर्वाचन प्रणालीतर्फ ४७ वटा राजनीतिक दल निर्वाचनमा सहभागिता जनाएका थिए । प्रतिनिधिसभा र प्रदेशसभाका ४ हजार २८५ उम्मेदवारको धरौटी रकम जफत भएको थियो । प्रतिनिधिसभातर्फ १ हजार ७७२ पुरुष र १८९ महिला गरी जम्मा १ हजार ९६१ जनाको धरौटी जफत भएको हो । यस्तै प्रदेशसभातर्फ २ हजार ८६ पुरुष र २३७ महिला तथा १ अन्य गरेर २ हजार ३२४ जनाको धरौटी जफत भएको छ । 
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गतको निर्वाचनमा मतदान भएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुन्छ । 
संविधानमा भएको ब्यवस्था 
नेपालको संविधान (२०७२) ले ब्यवस्था गरेका कयन विषयहरु अझै कार्यान्वयन हुन सकेका छैनन । राज्यका निकाय तथा राजनीतिक दलहरुले बाध्यात्मक अवस्था बाहेक महिला, दलित, सिमान्तकृत, आदिबासी जनजातीहरुलाई अधिकार दिने तथा सहभागिता गराउने गरेका छैनन । कानूनी र बाध्यात्मक ब्यवस्थाले विगतमा भन्दा अत्याधिक सहभागिता भने हुन थालेको छ । अझै केहि क्षेत्रमा सहभागिताका लागि उपयुक्त उम्मेदवारहरु तयार हुन सकेका छैनन । त्यस्तो अवस्थामा सहभागिता, सहभागितासँगै क्षमता बृद्धी र सक्षम बन्नु पर्ने चुनौती छ । अवसरसँगै क्षमता बढाउन शिक्षा, चेतना, तालिम तथा विविध क्षेत्रहरुको विकास जरुरी छ । शासकीय तहले शासकीय प्रबन्ध गर्दा विकेन्द्रीकरण सहभागिता, जवाफदेहिता, पारदर्शिता, उत्तरदायित्व सदाचारिता तथा कानुन बमोजिम शासन जस्ता पक्षलाई आत्मसात गर्नु पर्छ । 
शासकीय तहमा महिलाको सहभािगता अर्थपूर्ण हुनको लागि लोकतन्त्रको प्रबद्र्धक, शासन संचालनको संवाहक भई शासन संचालनका लागि नीति नियम निर्माता र त्यहि भावना मुखरित गराउने सामथ्र्य महिलामा हुनुपर्छ । लोकतन्त्र शासनको एक सुन्दर प्रणाली हो, जहाँ हरेक नागरिकले राजकीय सत्ता र सार्वभौमसत्ता आफैं संचालन गर्दछन् । यस प्रणालीमा प्रत्येक नागरिक शासनप्रणाली र राज्य व्यवस्थाको मुल अंशियार कायम रहन्छन् । कानुनको शासनलाई वास्तविक रुपमा आत्मसात गर्ने पद्दति हो । लोकतन्त्र सिद्धान्ततः लोकतन्त्रमा कुनै दोष छैन यदि छ भने त्यसको अभ्यास गर्ने व्यवस्थापकीय शैलीमा छ । लोकतन्त्रमा राज्यको शक्ति, स्रोत र अवसरहरुमा सबै वर्ग, लिङ्ग र समुदायको पहुँच प्रतिनिधित्व र समान अधिकार सुनिश्चित गरिएको हुन्छ । पिछडिएको वर्ग र समुदायको उत्थानको लागि सामाजिक न्याय अन्तर्गतका उपकरणहरुको प्रयोग गरी सारभूत समानता कायम गरिन्छ ।
गणतन्त्र स्थापना पश्चात महिला अधिकार, महिला सहभागिता, महिलालाई अवसर र महिला नेतृत्वसँग जोडिएका मुद्दाहरु अझ बुलन्द रुपमा अघि सारिएका छन् । त्यसैगरी पछिल्लो दशकहरुमा महिला पहिचानका सवालले नेपाली समाज तरङ्गित हुन पुगेको छ र त्यसले केहि परिणामहरु पनि ल्याएको छ । महिला सशक्तिकरणका लागि पितृसत्तात्मक समाज र पुरुषहरुको हैकमवादी सोचको अन्त्य गरी महिलाको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, लैङ्गिक तथा आध्यात्मिक सामथ्र्यको अभिवृद्धिमा जोड दिएको पाईन्छ । नेपालको वर्तमान संविधानले महिलाका लागि केहि विशेष ब्यवस्था गरेको छ । धारा १२ तथा भाग २ मा आमाको नामबाट नागरिकता पाउने अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था साथै लैङ्गिक पहिचान सहितको नागरिकता पाउने ब्यवस्था छ । धारा १८, धारा ९४, धारा ५१ मा सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीति धारा ७० राष्ट्रपति र उपराष्ट्रपति फरक फरक लिङ्ग वा समुदायको हुने व्यवस्था गरेको छ भने धारा ९१ मा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एकजना महिला हुने, धारा ९२ राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष मध्ये एकजना महिला हुने ब्यवस्था गरेको छ । महिला आयोग, ३३ प्रतिशत महिलाको राज्य संयन्त्रमा प्रतिनिधित्व गर्न राजनीतिक संकल्प सहितको कानूनी ब्यवस्था गरिएको छ ।
 
संविधानको धारा ३८ मा राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ । महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ ।  सम्पत्ति तथा पारिवारीक मामिलामा दम्पत्तिको समान हक हुनेछ । अन्य मौलिक हकहरु, राज्यका नीतिहरु तथा राज्यका निर्देशक सिद्धान्तहरुले पनि महिला अधिकारको संरक्षणको संकल्प गरेको पाइन्छ । जातीय, वर्गीय, लिङ्गीय समस्या हल गर्न राज्यको पुनर्संरचना गर्ने, राज्य संयन्त्रमा ३३% प्रतिनिधित्व गर्न राजनीतिक संकल्प गरेको पाइन्छ । यसरी संविधानले गरेको व्यवस्थाहरुलाई कानुन निर्माण गरी कार्यान्वयनमा आएको छ । नेपालले महिला अधिकार र विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय प्रयासमा गरेका प्रतिबद्धता अनुरुप पनि कानुन निर्माण गरी लागू गरेको छ । प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक हुनेछ । प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ । महिला विरुद्ध धार्मिक, सामाजिक, साँस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारिरीक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । यस्तो कार्य कानुन बमोजिम दण्डनीय हुने र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति समेत  पाउने ब्यवस्था गरेको छ ।
धारा १८ समानताको हकमा सबै नागरिक कानुनको दृष्टिमा समान हुनेछन्, कसैलाई पनि कानुनको समान संरक्षणबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ । सामान्य कानुनको प्रयोगमा उत्पत्ति, धर्म, वर्ण, जात, लिङ्ग, शारीरिक अवस्थामा, अपाङ्गत स्वास्थ्य स्थिति, वैवाहिक स्थिति, गर्भावस्था, आर्थिक अवस्था, भाषा वा क्षेत्र, वैचारिक अवस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गरिने छैन । राज्यले नागरिकहरुका बीच उत्पत्ति, धर्म, वर्ण, जातजाती, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन । तर सामाजिक वा साँस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिवासी, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत किसान, श्रमिक, युवा, बालबालिका, जेष्ठ नागरिक लैङ्गिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय, पिछडिएको क्षेत्र र आर्थिक रुपले विपन्न खस आर्य लगायत नागरिकको संरक्षण, सशक्तिकरण वा विकासका लागि कानुन बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन । समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन । पैतिक सम्पत्तिमा लैङ्गिक भेदभाव विना सबै सन्तानको समान हक हुनेछ भन्ने ब्यवस्था गरिएको छ । 
(लेखक जिल्ला अदालत भक्तपुरमा कार्यरत अधिकृत तथा सूचना अधिकारी हुनुहुन्छ ।)