श्री कृष्ण तत्व

त्यो कृष्ण तत्त्व मोहित पार्छ जगतै संसार,
मायाको जल सिंचेको मन मान्छेमा रोपेर,
हृदय भित्र सल्वल गरे त्यो तत्व महान,
मोक्षको बाटो थाल्दछ खुल्न अन्यथा नठान,
चटके जस्तै छ चमत्कारी सत्यको सहारा,
सुनौ त लीला अद्भुत उसको लाग्दछ अपार,
आत्मामा बसी भूमिका खेल्छ लगाम लगाई,
जागृत गर्छ चेतना दिव्य मन यो धुलाई,
मुकुट पंख कौस्तुभ माला मोहिनी त्यो रुप,
मखन मिश्री भोजन गर्छ साकार स्वरूप,
त्यो निराकार परम ब्रह्म मनको आसन,
गोलोक बसी गर्दछ जसले आत्माको शासन,
रहस्यमय छ कृष्ण तत्त्व बुझ्न त कठिन,
संसारी हामी गर्दछौं तिनको रूपको भजन,
आनन्ददायी त्यो सत चित्त मनमा धारण,
संधैनै गरौं बुझेर यहां मोक्षको कारण,
भक्तिको दीप हृदय भित्र झलल्ल पारेमा,
परम तत्व राधा र कृष्ण धारण गरेमा,
असाध्य छैन यो कृष्ण तत्व भक्ति त पलाए,
मनमा त्यसको चिन्तन संधै मान्छेले चलाए,
छ निराकार लिलाका लागि बन्दछ साकार,
वराह कुर्म राम र कृष्ण अनेक अवतार,
एकैको तीन तीनको एक भएर यिनले त,
संहार सृष्टी पालन यहां जसले गर्दछ,
व्रह्मा र विष्णु श्री शिव बेग्लै कहिल्यै नठानौ,
भुमिका खेल्न फरक भए हामी त लौ जानौ,
अनित्य हैन यो कृष्ण तत्त्व छ सर्वकालिक,
सृष्टि र स्थिति संहार कर्ता सबैको मालिक,
व्रह्माण्ड हांक्ने त्यो कृष्ण तत्व परम सत्ता हो,
प्रत्येक कणमा रहेर पनि अदृश्य लाग्छ जो,
दूधमा छनि लुकेको घिउ हेर्दामा देखिन्न,
जसरी दही मथेमा घिउ नभेट्ने हुंदैन,
लौ उपासना थालनी गरौं मुमुर्क्षे त्यसैले,
त्यो कृष्ण तत्व साक्षात्कार गर्दछ सबैले,
मुमुर्क्ष जन साक्षात्कार गर्दछ सबैले,