चैत्र ३० गते धुलिखेलमा काभ्रे ओपन ३–ओन–३ बास्केटबलको दोस्रो संस्करण

धुलिखेल/काभ्रे बास्केटबल संघले नेपाली बास्केटबल प्रेमीहरूका लागि दोस्रो अल नेपाल काभ्रे ओपन ३–ओन–३ बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
२०८१ चैत ३० गते काठमाडौं विश्वविद्यालय धुलिखेलको प्राङ्गणमा आयोजना गरिएको प्रतियोगितामा नेपाल भरका उत्कृष्ट खेलाडीहरू एउटै कोर्टमा सहभागि भई प्रतिस्पर्धा गर्नेछन् । प्रतिभा, खेल प्रतिको भावना र समुहगत प्रतिस्पर्धाका लागि उक्त प्रतियोगिता महत्वपूर्ण मानिएको आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगितामा ४० वटा पुरुषहरुको र १५ वटा महिलाहरुको समुह बीच प्रतिस्पर्धा हुनेछ । करिब २ हजार ५ सय दर्शकहरूले प्रत्यक्ष रूपमा अवलोकन गर्ने अपेक्षा गरिएको प्रतियोगिताको आवश्यक तयारी, ब्यवस्थापन तथा प्रचार प्रसार र टिम दर्ताका कार्यहरु भईरहेको अध्यक्ष शिव थापा मगरले बताए । प्रतियोगितामा सहभागि विजेता टिमल् शिल्ड, प्रमाणपत्र सहित नगद ४० हजार पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद २० हजार सहित आकर्षक उपहार भौचरहरू प्राप्त गर्नेछन् । बास्केटबलको विकास र नयाँ पुस्तालाई प्रेरणा दिने उदेश्यले आयोजना गरिएको उक्त प्रतियोगिता केवल खेलको मैदानसम्म सीमित नभई नेपालमा बास्केटबल संस्कृतिलाई अझ मजबुत बनाउँदै खेलाडी, समर्थक र समग्र समुदायलाई एकसाथ ल्याउने लक्ष्य राखेको अध्यक्ष शिव थापा मगरले बताए ।
