मानव जातिको समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (आएटी) मा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास गर्नुपरेको बताएका छन् ।
थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले मानवीय सुख, समृद्धि, सुरक्षा र आत्मसम्मानका लागि नेपाल सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए ।
उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षाको व्याख्या गर्दै मानवीय चाहना र सुखीभन्दा अर्को ठुलो कुरा विश्वामा नहुने विचार व्यक्त गर्दै जलवायु परिवर्तनलगायतका मुद्दामा साझा प्रयासका लागि आह्वान गरेका छन् ।
नेपाली अध्यापक र विद्यार्थीसहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आधुनिक कृषिको विकास र २१ औँ शताब्दीको मानवनीय जनशक्तिको उत्पादनमा जोड दिँदै एआइटीबाट उत्पादिन जनशक्तिले नेपालको जलस्रोतलगायत विकासका क्षेत्रमा योगदान दिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले एआइटीले नेपालमा खोज, अध्ययन र छात्रवृत्तिका लागि स्थापना गरिएको कोषमा एक लाख अमेरिकी डलर रकम जम्मा गर्ने घोषणा पनि गरेका छन् ।
थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले उक्त संस्थमा विश्वका विद्यार्थीहरूमध्ये बढी विद्यार्थी हुने मुलुकमध्ये नेपाल चौथो स्थानमा पर्ने भएकाले नेपाल र एआइटीको सहकार्य आफूहरूको प्राथमिकतामा रहेको बताए ।
एआइटीलमा हाल एक सय ८१ नेपाली विद्यार्थी अध्ययनरत छन् भने हालसम्म एक हजार सात सय ९५ नेपाली विद्यार्थीले अध्ययन गरिसकेका छन् । यस संस्थाको बोर्ड अफ ट्रष्टीमा तीन जना नेपाली सदस्य रहेका छन् भने सात जना फ्याकल्टी मेम्मर नेपाली रहेका छन् ।