सामुदायिक साकोस बागमति प्रदेशकै उत्कृष्ट संस्था

काभ्रेपलाञ्चोकमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था बागमति प्रदेशकै उत्कृष्ट सहकारी घोषित भएको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघको आयोजनामा राष्ट्रिय सभागृह काठमाण्डौंमा भएको सहकारी दिवस कार्यक्रममा बागमति प्रदेशका सहकारी संस्थाहरु मध्येबाट सामुदायिक साकोसले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार प्राप्त गर्ने घोषणा गरिएको हो ।
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालका सातै प्रदेशबाट सात वटा सहकारी संस्थाहरुलाई यस वर्षको उत्कृष्ट संस्थाको सम्मान प्रदान गर्ने घोषणा भएको छ । जसमध्ये बागमति प्रदेशबाट सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. छनौट भएको हो । यस्तै पनौती नगरपालिकाले सहकारी दिवसका अवसरमा संस्थाका निवर्तमान अध्यक्ष प्रकाश बञ्जारालाई उत्कृष्ट सहकारी अभियान्ताका रुपमा सम्मान गरेको छ ।
२०५१ साल माघ १४ गते स्थापना भएको यस संस्थाले यसअघि २०६५ सालमा राष्ट्रिय सहकारी महासंघ बाट उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०६८ सालमा नेफ्स्कुनबाट उत्कृष्ट सहकारी संस्था र उत्कृष्ट ब्यवस्थापक, २०७३ सालमा राष्ट्रिय सहकारी बैंक लि. बाट प्रदेशको उत्कृष्ट संस्था, २०७५ सालमा नेफ्स्कुनबाट उत्कृष्ट ब्यवस्थापक, २०७६ सालमा बागमति प्रदेश सरकारबाट प्रदेशको उत्कृष्ट संस्था, २०७८ सालमा बागमति प्रदेश बचत तथा ऋण सहकारी संस्था लि. बाट उत्कृष्ट संस्था, २०८० सालमा जिल्ला सहकारी संघ लि., काभ्रे र पनौती न.पा. बाट उत्कृष्ठ संस्थाको रुपमा पुरस्कृत भैसकेको छ ।
एशियाली ऋण महासंघबाट सञ्चालित अन्र्तराष्ट्रिय स्तरको एक्सेस कार्यक्रममा आबद्ध भई सन् २०१२ देखि २०२२ सम्म निरन्तर एशियाली स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल यस संस्थामा हाल ६० हजार ६६२ जना शेयर सदस्यहरु आबद्ध छन् । संस्थामा रु. ६ अर्ब २२ करोडको कुल पुँजी रहेको छ । सदस्यहरुको शेयर पुँजी रु. ५२ करोड ४ लाख, जगेडा कोष रु. ४२ करोड ९७ लाख रहेको छ भने सदस्यहरुबाट ४ अर्ब ५२ करोड निक्षेप संकलन गरी सदस्यहरुलाई नै रु. ४ अर्ब ४५ करोड ऋण लगानी गरेको छ । १३४ जना कर्मचारीहरुलाई प्रत्यक्ष रोजगारी दिएको संस्थाले १८ वटा सेवाकेन्द्र मार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।