बनेपामा युवती हत्या प्रकरणः ‘घाँटी अठ्याएर भागे पछि आत्महत्या प्रयास गरें’

बनेपा/आफ्नै प्रेमिकालाई घरबाट बोलाएर होटलमा लगी मारेर फरार भएका युवकलाई नेपाल प्रहरीले छिमेकी देशको सिमानामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरी बनेपा ल्याईएको छ । पक्राउ गरिएका युवकको म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ । उनलाई २०८१ चैत्र १४ गते विहिबार पक्राउ गरिएको थियो ।
२०८१ साल फागुन १४ गते विहान बनेपा ६ बुडोल घरबाट निस्किएकी २३ बर्षिया युवती शर्मिला श्रेष्ठलाई युवक भरत बुढाथोकीले बनेपाकै एक होटलमा बोलाएर घाँटी थिचेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । रामेछाप जिल्ला खाडादेवी नगरपालिका वडा नम्वर ७ स्थायी घर भई बनेपा ६ बुडोल बस्दै आएकी शर्मिला श्रेष्ठ घरबाट बेपत्ता भएको उजुरी परिवारका सदस्यले प्रहरीलाई दिएका थिए । २०८१ फागुन १५ गते साँझ ५.३० बजे मृत अवस्थामा युवती फेला परेकी थिईन् ।
रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्वर २ हिलेचौर घर भई काठमाडौको बालाजुमा डेरा गरी बस्ने २७ बर्षिय भरत बुढाथोकीसँग सम्वन्धमा रहेकी युवती शर्मिलालाई उनैले मारेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो । शर्मिला र भरतको बोलचाल तथा अन्य सम्वन्धका आधारमा उनी माथी शंका गरी खोजतलास शुरु गरिएको थियो । होटलमा प्रवेश गर्दाको सिसिटिभी फुटेज तथा अन्य रेकर्डका आधारमा भरतले नै शर्मिलालाई बन्धक बनाई हत्या गरेको खुलेको हो । शर्मिलाका बाबुले भरत विरुद्ध किटानी जाहेरी दिएका थिए ।
प्रारम्भिक बयानका क्रममा भरतले कक्षा ८ अध्ययन गर्दा खेरी चिनजान भई प्रेम गरेको बताएका छन् । ‘हामी कक्षा ८ देखि नै सँगै पढ्यौं । प्रेममा प¥यौं । मैले उनलाई आफुलाई भन्दा धेरै माया गर्थे । त्यो मेरो पागलपन पनि थियो होला । प्रेम निरन्तर थियो । सम्वन्ध पनि थियो । उसको घरका सबै सदस्यहरुलाई हाम्रो प्रेमका बारेमा जानकारी थियो । उनी काम गर्ने क्रममा अरु कसैसँग प्रेममा परेको थाहा भयो । उता पनि प्रेम गरिरहने, यता मलाई पनि ठिक्क बनाईरहने गरेको सहन सकिन । उनले एक जना युवकसँग घन्टौ फोनमा कुरा गरिरहने, भेटघाट गर्ने अनि प्रेम सम्वन्धमा रहेको कुरा पत्ता लाग्यो । उनलाई धेरै पटक सोधें । तर भनिन् । मैले उनलाई हत्या गर्ने योजनाले थिएन । उनि जापान जाने तयारीमा थिईन् । मेरो कुरा गए सँगै जाउँ नत्र नजाउ भन्ने थियो । उनले तयारी गरिरहिन् । जापान जाने अन्तिम तयारीमा रहँदा उनले मलाई वास्ता गरिनन् । बनेपामा एउटा होटलमा डेरा लिएँ । त्यहि डेरामा बोलाएर उनका सबै कुरा सुन्ने योजनामा थिएँ । उनी काम गर्ने स्थानमा जान्छु भनेर घरबाट निस्किए पछि मैले आफुले भाडामा लिएको होटलमा बोलाएँ । उनले कोठा भित्र पस्न नपाउँदै मलाई मुख छाडेर घाँटी समाईन । मैले पनि आवेशमा आएर घाँटी समाई दिएँ । सिरानीले पनि थिचिदिएँ । उनि मरेकी थिईनन् । पछि माया लाग्यो । अनि कोठामा चावी लगाएर मोवाईल त्यहि भित्र छाडेर भागें । म पनि मर्न प्रयत्न गरें । जंगलमा झुण्डिन खोजें । काल नआएकाले होला सम्भव भएन । त्यस दिन र रात मैले जंगलमा रक्सि खाएर विताएँ । पछि विस्तारै म भारत गएर लुकेर बसें । प्रहरीले मलाई भारतबाट पक्राउ गर्ने तयारी गरेको रहेछ । सिमाका कारण नेपाल बोलाएर पक्राउ गरेर ल्याएको हो । हत्यामा पश्चाताप छ । त्यो भन्दा धेरै चाँहि मैले कक्षा ८ देखि गरेको प्रेममा उनले गरेको अन्र्तघातमा छ ।’
पछिल्लो समय जिल्लामा अपराधका घटनामा बृद्धि भईरहेको छ । सम्पत्तिका लागि आमा, बाबु, सासु, ससुरा, श्रीमती तथा कामदारले सामान्य ब्यवसाय गर्ने ब्यक्तिलाई समेत हत्या गरेका छन् ।