बनेपामा कृषि सहकारीका सञ्चालक र कर्मचारीलाई संस्था सुदृढीकरण सम्बन्धी प्रशिक्षण

काभ्रेमा कृषि सहकारीका सञ्चालक र कर्मचारीका लागि संस्था सुदृढीकरण सम्बन्धी प्रशिक्षण आयोजना गरिएको छ । साना किसान तथा अन्य कृषि सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीका लागि एक दिने आम प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
जिल्ला कृषि सकारी संघ काभ्रे र साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा बनेपामा भएको प्रशिक्षणमा ३ सय जनाको सहभागीता रहेको छ । प्रशिक्षणमा सहकारीको वर्तमान अवस्था, समस्या समाधानका लागि भएका प्रयास र आगामी योजना बारे छलफल भएको छ ।
कृषि सहकारी संघका केन्द्रिय अध्यक्ष, राष्ट्रिय सहकारी महासंघ केन्द्रिय उपाध्यक्ष एवं साना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सहकारीमा समस्या निम्तिनुको कारण र सहकारीकर्मीले ध्यानदिनुपर्ने विषयका बारेमा जानकारी गराएका छन् । व्यक्ति केन्द्रित, पारिवारिक र नीति विधिमा नचलेका सहकारीमा संकट देखिएको उनले बताए । उनले सहकारीलाई अब्बल बनाउन सहकारी शिक्षा जरुरी रहेको बताए ।
राष्ट्रिय सहकारी महासंघका सदस्य सुमन नेपालले सहकारीमा देखिएका समस्या समाधान गर्न अध्यादेश जारी भएको जानकारी गराउँदै थप सुधारका लागि छलफल गरिरहेको बताए । उनले सहकारीको मुल्यमान्यता र परिधिभित्र रहेर गुणस्तरीय र भरपर्दो सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
कृषि सहकारीको सुदृढिकरण र संस्थागत विकासका लागि तालिम उपयोगी रहेको जिल्ला कृषि सकारी संघ काभ्रेका अध्यक्ष हरिचन्द्र घिमिरेले बताए ।
सहकारी अभियान्ता सिताराम भट्टराई लगायतले कृषि सहकारीले किसानको समृद्धि र उद्यमशीलता विकासका लागि उल्लेख्य योगदान गरेको बताएका छन् ।



