प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि उनीहरूबीच थाइल्याण्डमा भेट भएको हो।
भेट बैंककस्थित म्यान्डारिन ओरियन्टल होटलमा भएको हो। यो त्यही होटल हो, जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बसेका छन्।
प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भने ब्यांककस्थित सांग्रिला होटलमा बसेको छ। मोदीसहितको भारतीय प्रतिनिधिमण्डल रहेको ओरेन्टल होटल नेपाली प्रतिनिधिमण्डल रहेको सांग्रिला होटलबाट करिब १५ मिनेटको दूरीमा छ। गत मंगलबार (चैत १९ गते) बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले २० गते त्यहाँका समकक्षी पे थोङ थान् शिनावातसँग द्विपक्षीय औपचारिक वार्ता गरेका थिए।