नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ताः ओलीले हिन्दीमा र मोदीले नेपालीमा साटे खुसी

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सकमक्षी नरेन्द मोदीले थाइल्यान्डको बैंककमा भेटवार्ता गरेका छन् । शुक्रबार भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीसँगको भेटवार्ता फलदायी रहेको प्रतिक्रिया दिएका छन् ।

आफ्नो सामाजिक सञ्जालमा मोदीले नेपाली भाषा प्रयोग गरेर लेख्दै उक्त टिप्पणी गरेका हुन् ।

‘बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो,’ मोदीले भनेका छन्, ‘भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ ।’

उनले भारत–नेपाल मित्रताका विभिन्न पक्षहरू विशेषगरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधिजस्ता क्षेत्रहरूमा छलफल भएको जानकारी गराएका छन् ।

‘हामीले यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्‍यौं,’ उनले भनेका छन् ।

प्रधानमन्त्री ओलीले भने हिन्दीमा लेखेर खुसी साटेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ ।

बैंककस्थित उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा दुवै पक्षबाट कोही पनि अरु अधिकारी सहभागी भएनन् ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले दुईपक्षीय संवाद र विश्वास बढाउनका लागि थुप्रै विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।

सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुईपक्षीय हितका थुप्रै विषयमा कुरा भएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका छन् ।

दुई नेताहरुबीच भएको कुराकानीको विस्तृत विवरण आउन बाँकी छ । यद्यपि दुवै देशका विदेशमन्त्रीहरु बैंककमै हुँदा पनि भेटमा सहभागी गराइएन ।