प्रतिलिपि अधिकार कानूनका बारेमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई अभिमुखिकरण

धुलिखेल÷प्रतिलिपि अधिकार कानून सम्वन्धमा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं सरोकारवाला पक्षहरुसँग छलफल तथा अन्र्तक्रिया कार्यक्रम धुलिखेलमा सम्पन्न भएको छ । कार्यक्रममा धुलिखेल नगरपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा जिल्लामा कार्यरत अर्ध न्यायिक निकायमा कार्यरत कर्मचारीहरु र प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत रहेको नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको आयोजनामा भएको उक्त कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले संविधानले समेत ब्यवस्था गरेको प्रतिलिपि सम्वन्धी अधिकार स्थानीय तहले पनि कानून निर्माण गरी कार्यान्वन गर्ने बताए ।
प्रतिलिपि सम्वन्धी अधिकार, आर्थिक तथा मौलिक रचनाका अधिकार, सादृश्य प्रस्तुती तथा कपिराईट सम्वन्धी ब्यवस्थाका बारेमा तीन तहका सरकारले अलग अलग ब्यवस्थापन गर्न सक्ने ब्यवस्था छ । सोहि ब्यवस्थालाई कार्यान्वन गर्ने गरी नगरपालिकाले निर्माण गर्ने कानून तयार गरिएको नगर प्रमुख ब्याञ्जुले बताए ।

कार्यक्रममा रजिस्ट्रा कार्यालयका रजिस्ट्रार सविता कार्कीले कार्यालयले गरिरहेका काम, कानूनी ब्यवस्था तथा अधिकार र प्रलिलिपि अधिकार ऐन २०७९ र प्रतिलिपि अधिकार नियमावली २०६१ का बारेमा भएको ब्यवस्था तथा प्रतिलिपि अधिकारको स्वामित्व लगायतका विषयमा जानकारी गराएकी थिईन् । पुर्व रजिस्ट्रार तथा बौद्धिक सम्पत्ति संरक्षण समाजका अध्यक्ष विसुकुमार केसीले प्रतिलिपि अधिकार सम्वन्धी कानूनी ब्यवस्था र अभ्यासका सन्र्दभमा जानकारी गराएका थिए ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासैनी, वडा अध्यक्षहरु, विभिन्न कार्यालयका प्रतिनिधिहरु, कार्यालयका अधिकृत उत्तमप्रसाद दवाडी लगायतले प्रतिलिपि अधिकारका सम्वन्धमा धारणा राखेका थिए ।