रविले भने– ममाथि ठूलो अन्याय भएको छ, न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु

रास्वपा सभापति रवि लामिछानेले आफुमाथी ठूलो अन्याय भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उच्च अदालत तुलसीपुरको आदेशलाई सम्मान गर्दै आजै गिरफ्तारी दिने उनले बताए । यद्यपि, उनले आफूमाथि अन्याय भएको जिकिर गरेका छन् ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु’, उनले लेखेका छन्, ‘म माथि ठूलो अन्याय भएको छ ।’

उनले आफूले न्यायका लागि हरेक ढोका ढकढकाउने पनि उल्लेख गरेका छन् ।

सभापति लामिछानेले आफ्नो अनुपस्थितिमा चितवनको सभा नरोक्न आग्रह पनि गरेका छन् ।
रवि लामिछानेलाई प्रहरीले पक्राउ गरिसकेको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने शुक्रबार साँझ ९ बजे उनको काठमाडौँस्थित निवासबाट पक्राउ परेका हुन्।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनलाई थुनामै राख्ने जिल्ला अदालत रुपन्देहीको आदेश सदर गर्दै उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको हो ।