परमार्थ के हो

परम तत्व के हो के हो परमार्थ जान्ने जिज्ञासा भई,
सत्संगका लागि भौतारिएछु म त टाढा टाढासम्म गई,
आफैंभित्र लुकेको रहेछ यो परम तत्व हृदयमा गाढा,
गहिरिएर हेर्नुपर्ने रहेछ नि आफै भित्र पन्छाई द्वेषका काँडा,
परमार्थ पनि त्यही रहेछ म भित्रको त्यो मलाई चिन्नु,
गहन ध्यानमा मग्न भई प्राणायामले स्वहंलाई जान्नु,
सतहको म र मेरो मा मात्र अल्मलिदा त वास्तविक म यो,
भेटेर साक्षात्कार गर्न त आकाशको तारा भेट्नु जस्तै पो भयो,
म चिन्न सकेमा मात्र मानवताको भाव हामीभित्र सलबलाउँछ,
मनलाई हेर्ने दर्पणमा जमेको मैलो पुछौँ त म चिन्न सघाउँछ,
सबै भित्र विद्यमान त्यो म तत्व त्यसैलाई आत्मा भनि जान्नु छ,
त्यसलाई निर्देशित गर्ने परमात्मा हो जसलाई परमतत्व जान्नु छ,
राग र द्वेष पालेर जब आफैंभित्र मात्र आत्मा जागृत छ भनि ठान्दा,
गम्भीर भूल हामीबाट हुन्छ नि केवल म र मेरो मात्र सोचाइ राख्दा,
परमार्थी त्यो नै हो जसले आत्मा र परमात्माको समानता बुझ्दछ,
मलाई जस्तै उसलाई पनि त्यस्तै चाहना हुन्छ भनि ठान्दछ,,
सत्संगबाट थाहा भयो भक्तिरस रसाउन पर्ने रहेछ परमार्थ भेट्न,
त्यही रसले बगाउनु पर्ने रहेछ मनको मैलो परमात्मालाई देख्न।