काभ्रेका दुई पालिकाका तीन सामुदायिक वनमा आगलागी

धुलिखेल/काभ्रेका विभिन्न स्थानमा आगलागी भईरहेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको चौरीदेउराली र महाभारत गाउँपालिकाका सामुदायीक वन तथा नीजि पाखो जंगलमा आगलागी भईरहेको छ ।

चौरीदेउराली गाउँपालिका वडा नम्वर ६ स्थित कात्तिकेदउरालीमा रहेको कात्तिकेदेउराली सामुदायिक वनमा शुक्रबार चैत्र २२ गते राति ९ बजेबाट आगलागी शुरु भएको थियो । प्रहरी तथा स्थानीयहरुको सहयोगमा करिरव डेड घण्टा पछि आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय कात्तिकदेउरालीले जानकारी दिएको छ ।

त्यस्तै चौरीदेउराली गाउँपालिका वडा नम्वर ५ स्थित ब्यक्तिगत पाखो बारीमा लागेको खारा सामुदायिक वनमा फैलिएको छ । शुक्रबार दिउसो ३ बजे देखि लागो आगो निरन्तर लागिरहेको छ । नियन्त्रणमा लिने प्रयास भए पनि अझै नियन्त्रण बाहिर रहेको स्थानीयले बताएका छन् । आगलागि भएको स्थानबाट बस्ति टाढा भएकाले जोखिम कम छ । तर जंगल भित्रका बन्यजन्तु तथा विभिन्न पशुपंक्षीहरु जलेका छन् ।

महाभारत गाउँपालिका ७ नम्वर वडामा रहेको कुलुङ सामुदायिक वनमा आगलागी भएको छ । शुक्रबार दिउसोबाट उक्त बनमा आगलागी भईरहेको छ । आगो अझै नियन्त्रण बाहिर रहेको इलाका प्रहरी कार्यालय देविटार महाभारतले जानकारी दिएको छ । केहि दिन बेथान्चोक गाउँपालिका तथा अन्य पालिकाका सामुदायिक वनमा आगलागी भएको थियो ।