हामी अत्यन्तै अस्वस्थ स्वास लिइरहेका छौं

नेपालका अधिकांश जनसंख्या अस्वस्थकर हावामा श्वास फेर्न बाध्य छन् ।वायु प्रदूषण नेपालको एक गम्भीर समस्या बनिसकेको छ। वायु प्रदूषण भन्नाले खास गरेर उद्योगहरूबाट निस्केको धुवाँको कालो मुस्लोबाट वायु ढुंगाखानी सिमेन्ट उद्योग तेल प्रशोधन स्थल, मल उत्पादन उद्योग, मोटर गाडी, कोइला खानी दाउरा आदि पर्दछन् । प्रदूषण प्राकृतिक र मानव निर्मित स्रोतहरूबाट उत्पन्न हुन सक्छ। वायु प्रदूषण एक गम्भीर समस्याको रुपमा उत्पन्न भएको छ । जसले जनस्वास्थ्य र पर्यावरणमा दीर्घकालिक असर पुर्याउने सम्भावना छ।
केही सातायता नेपालमा वायु प्रदुशणले तिब्र गति लिएको छ । काठमाडौ लगायत विभिन्न ठाउँमा वायु प्रदूषणले खतराको तह पार गरेसँगै मानिसहरूमा आँखा पोल्ने, घाँटी खसखसाउने, टाउको दुख्ने र रुघाखोकीको लगायत जटिल समस्या देखिएको छ । अहिले देशभर जंगलमा अत्यधिक आगजानी भएको छ । यस्तै वायू प्रदूषण बढाउने काम यातायात, धुवाँधुलो, सिमानाबाट आएका प्रदूषित हावाले पनि गरिहेको छ।
विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स एक्यूआई सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेको छ । एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, एक सय एक देखि एक सय ५० सम्म ‘सम्भावित जोखिम’, १ सय ५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ । हाल काठमाडौंमा वायु प्रदूषणको स्तर ३ सय ४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा वायु प्रदुषणका कारण वार्षिक ४२ हजार जनाले ज्यान गुमाउने गरेको पाईएको छ । नेपालमा सुख्खा मौसममा मात्र नभइ अन्य महिनाहरूमा समेत वायु गुणस्तर प्राय अस्वस्थकर हुने गरेकाले पछिल्ला केही दशकहरू देखि नै यो एउटा प्रमुख समस्याको रुपमा देखिएको छ ।
संसारका सफा मुलुकका तुलनामा नेपालीले श्वास फेर्ने हावा १० गुणा धेरै प्रदूषित रहेको देखिएको छ। संसारभरिका सर्वाधिक स्वच्छ हावा भएका १० मुलुक र क्षेत्रको पीएम २।५ को मात्रा सरदरमा ४।१८ माइक्रोग्राम प्रतिघनमिटर छ।
प्रदुषणबाट बाँच्न के गर्ने ?
प्रदूषणका कारण श्वासनली खराब हुन पुग्छ। प्रदूषणका कणहरू फोक्सोमा गएर बसिदिन्छन् र क्रोनिक ब्रोङ्काइटिस्, सिओपिडी दम खोकी, ब्रोङ्केलाहरूमा एलर्जी हुन सक्छ।
धुलो उड्न नदिने, घरबाट निस्कने फोहोरको व्यवस्था गर्ने, टोलको सफाइमा अग्रसर हुने, हरियाली बनाउन रुख–बिरुवा रोप्ने, प्लास्टिकजन्य प्रदार्थलाई नजलाउने गर्न पर्दछ ।
त्यस्तै घर बनाउँदा मापदण्ड कडाइका साथ तोक्ने, सकेसम्म घर बनाउँदा रुखलाई काट्न नदिने गर्नुपर्छ । सर्वसाधारणले मुख्यतः धुम्रपानको सेवन कम गर्नुपर्छ।