देशभक्ति, सुशासन र विकास निर्माणमा एमालेसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैनः गोकुल बाँस्कोटा

नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बाँस्कोटाले देशभक्ति, सुशासन र विकास निर्माणको सवालमा कुनै पनि राजनीतिक दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् ।

नेकपा एमाले पनौती नगरपालिका ३ नम्बर वडा कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै बाँस्कोटाले एमाले नेतृत्वको सरकारले गरेका काम र प्रतिपक्षमा रहँदा गरेको खबरदारीले उक्त तथ्य पुष्टि गरेको बताए । आफ्नो नेतृत्वमा सुरु भएका अतिआवश्यक र दीर्घकालिन महत्वराख्ने योजनालाई निरन्तरता दिएको बाँस्कोटाले जानकारी दिए ।

कुशादेवी राजनीतिक संस्कार र संस्कृति सुरु गर्ने केन्द्रको रुपमा रहेको पनि उनले बताएका छन् । पञ्चायतकालमा समेत कुशादेवीमा एमालेले चेतनाको राँको बालेको स्मरण गरेका छन् । स्टन्टको राजनीति धेरै नटिक्ने ठोकुवा गर्दै बाँस्कोटाले असल दर्शन र विचारलाई अनुशरण गर्न आग्रह गरेका छन् । गत असोजको बाढी पहिरोबाट जोखिममा परेका वस्ती स्थानान्तरणका लागि निरन्तर आवाज उठाईरहेको उनले बताए । खानी र पानी एकै ठाउँमा रहन नसक्ने विषय आफुले पटक पटक उठाए पनि त्यसलाई ध्यान नदिँदा ठुलो विपत्तिको सामना गर्नुपरेको बाँस्कोटाले बताए । स्थानीय सरकारको ध्यान राजस्वतर्फ मात्रै गएको उनको भनाई छ । फरक प्रसँगमा पछिल्लोसमय राजावादीको सक्रियातातर्फ संकेत गर्दै एमाले नेता बाँस्कोटाले इतिहासको रथ अघि बढिसकेकाले अब नर्फकने बताए । भुत भइसकेको राजतन्त्र व्युँताउन मसानघाटमा गरिने आन्दोलन निष्कर्षमा नपुग्ने उनको दाबी छ ।

वडा कमिटी अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य रमेश पौडेल, प्रदेश कमिटी सदस्य एवं पनौती नगरपालिका उप–प्रमुख गिता बञ्जारा, पुर्व नगर प्रमुख भिम न्यौपाने, काभ्रे जिल्ला कमिटी सचिव राजकुमार सापकोटा, नगर कमिटी अध्यक्ष सुरेश हुमागाँई लगायतले एमालेले गरिरहेका काम, आगामी योजना बारे जानकारी गराएका थिए ।

अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । अध्यक्षमा भिमसेन सापकोटा, उपाध्यक्ष गणेश घिमिरे, सचिव शशि घिमिरे, उप सचिवमा सुरथ तामाङ सहित २७ सदस्यीय वडा कमिटी निर्वाचित भएको छ । अधिवेशनकै अवसरमा नवराज कार्की माओवादी परित्याग गरेर एमाले प्रवेश गरेका छन् भने नेपाली कांग्रेसका सरोज सापकोटा पनि एमाले प्रवेश गरेका छन् ।