एक लाख पुरस्कार राशी भएको दोश्रो बनेपा उप–मेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिवल प्रतियोगिता भोली देखि शुरु हुँदै
बनेपा/दोश्रो बनेपा उप–मेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिवल प्रतियोगिता २०८१ भोली देखि लायकुमञ्च बनेपामा शुरु हुँदैछ । प्रतियोगिताको अन्तिम तयारी सकिएको आयोजकले जानकारी दिएका छन् ।
चैत्र २५ गते सोमबार शुरु हुने प्रतियोगिता चैत्र ३० गते समापन हुनेछ । बनेपा नगरपालिकाको आयोजना तथा बनेपा भलिबल प्रशिक्षण केन्द्रको ब्यवस्थापन र काभ्रे जिल्ला भलिबल संघको सहकार्यमा आयोजना गरिएको उक्त प्रतियोगितामा ९ वटा टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेश्रो हुने टिमले २५ हजार र चौथो हुने टिमले नगद १० हजार रुपैया प्राप्त हुनेछ । प्रतियोगिताको उद्घाटन नगर प्रमुख शान्तिरत्न शाक्यले गर्नेछन् भने समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले पुरस्कार वितरण गर्नेछन् ।
गत वर्ष देखि बनेपा नगरपालिकाले उपमेयर महिला भलिबल कप आयोजना गर्दै आएको छ । करिव ७ लाख रुपैया खर्च हुने उक्त प्रतियोगिताका लागि नगरपालिकाले ५ लाख रुपैया उपलब्ध गराउने छ । नगद पुरस्कार धेरै भएको महिला भलिबल प्रतियोगिता जिल्लाकै नमूना हो । प्रत्येक म्याचमा प्लेयर अफ द म्याच घोषणा गर्दै पुरस्कार उपलब्ध गराउने बनेपा भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिए ।
प्रतियोगितामा ललितपुर महानगरपालिका, महाभारत गाउँपालिका, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लव, धुलिखेल नगरपालिका, बुढानिलकण्ठ भलिबल क्लव, बनेपा नगरपालिका वडा नम्वर ९, प्रोफेसनल, पनौती नगरपालिका र बनेपा नगरपालिका सहभागि हुनेछन् । पहिलो खेल महानगरपालिका, महाभारत गाउँपालिका बीच हुनेछ । दोश्रो खेल प्रोफेसनल र पनौती नगरपालिका बीच हुनेछ । लिग चरणका आधारमा खेलिने उक्त प्रतियोगिता गत वर्ष जिल्लाब्यापी, यो वर्ष खुल्ला आमन्त्रण र आगामी वर्ष अझै बृहत्त गर्ने तयारी रहेको आयोजकले जानकारी दिएका छन् ।
२०८० सालमा स्थापना भएको बनेपा भलिबल प्रशिक्षण केन्द्रले छोटो अवधीमा ७० जना भन्दा धेरै भलिबल खेलाडीहरुलाई प्रशिक्षण दिएको छ भने महत्वपूर्ण दुईवटा प्रतियोगिता आयोजना गरेको छ । भलिबल खेलको संरक्षण, प्रर्वद्धन तथा त्यस भित्र पनि महिला भलिबल खेलाडीहरुको उत्पादन र प्रशिक्षणका लागि निरन्तर सक्रिय रहेको भवानी जोशीले जानकारी दिए ।






