घण्टाघरको घडी दम दिन नपर्ने गरी बनाइँदै

काठमाडौंको घण्टाघरमा आधुनिक घडी राखिने भएको छ । स्तम्भ प्रबलीकरण गरी नयाँ घडी राखिने भएको हो । काठमाडौंको त्रिचन्द्र कलेज परिसरमा रहेको घण्टाघरले समय दिन छाडेको ९ वर्ष वितेको छ । ०७२ को भूकम्पले क्षति गरेपछि बन्द भएका चारवटा घडी हटाएर दम दिनु नपर्ने आधुनिक घडी राख्न लागिएको हो।
हाल घण्टाघर स्तम्भको चारै भागमा रहेका चारवटा परम्परागत (दम दिनुपर्ने) घडीका सुईमा खिया लागेका छन् । विसं १९१८ मा राखिएका घडीमा त्रिचन्द्र क्याम्पसका कर्मचारी तथा घडीका मिस्त्री गणेश सापकोटाले ३६ वर्षसम्म दम दिएका थिए । सातामा दुईपटक दम दिनुपर्दथ्यो । तर, ०७२ को भूकम्पले भवन र घडी स्तम्भमा क्षति पुगेपछि दम दिन छाडिएको छ।
उक्त म्यानुअल घडी हटाएर अटोमेटिक घडी राख्ने तयारी गरिएको सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइका आयोजना उपनिर्देशक अविनाश श्रीवास्तवले बताए। भारतबाट ल्याइने चारवटा घडीको मूल्य ५० लाख अनुमान गरिएको छ।