रास्वपा सभापति रवि लामिछाने पुर्पक्षका लागि भैरहवा जेलमा रहने

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालती प्रक्रिया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एस पी रन्जितसिंह राठौरले सबै अदालती प्रक्रिया पुर्याएर कारागार पठाइएको बताए।उनले अर्को आदेश नआउँदासम्म लामिछाने भैरहवा कारागारमै रहने जानकारी दिएका छन्।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा राख्ने आदेश दिएपछि लामिछानेलाई शुक्रवार काठमाडौंबाट पक्राउ गरी शनिवार विमानमार्फत भैरहवा ल्याइएको थियो।गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए।