दोस्रो बनेपा उप–मेयर कप महिला भलिबल प्रतियोगिता सुरु

दोस्रो बनेपा उप–मेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिता लायकुमञ्चमा सुरु भएको छ । बनेपा नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले गरेका छन् ।
कार्यक्रममा उप–प्रमुख विमला सापकोटाको सभापतित्व रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने, बनेपा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिटलर शाक्य, ८ नम्बर वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, पुर्वअध्यक्ष मोतीराम तिमल्सिना, बनेपा भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष विक्रम प्रजापति, प्रशिक्षणका लागि निरन्तर सक्रिय भवानी जोशी लगायतको खेलाडी र खेलप्रेमीको उपस्थिती रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख शाक्यले खेल क्षेत्रमा महिलाको उपस्थिती बढाउन प्रतियोगिता सुरु गरिएको बताए । खेलको प्रवर्धन, महिला सहभागीता र क्षमता अभिवृद्धिका लागि प्रतियोगिता महत्वपुर्ण हुने उनको विश्वास छ । आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार खेल क्षेत्रलाई अझै व्यवस्थित र प्रभावकारी बनाउने उनले प्रतिवद्धता जनाएका छन् ।
बनेपा भलिबल प्रशिक्षण केन्द्रको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिता समापन चैत्र ३० गते हुनेछ । समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री गोकुल बास्कोटाले पुरस्कार वितरण गर्नेछन् ।
प्रतियोगितामा ९ वटा टिम सहभागी छन् ।
उद्घाटन खेलमा ललितपुर महानगरपालिका र महाभारत गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो । टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लव, धुलिखेल नगरपालिका, बुढानिलकण्ठ भलिबल क्लव, बनेपा नगरपालिका वडा नम्वर ९, प्रोफेसनल, पनौती नगरपालिका र बनेपा नगरपालिका प्रतियोगितामा सहभागी छन् ।

प्रथम हुने टिमले नगद १ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप विजेता टिमले नगद ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेश्रो हुने टिमले २५ हजार र चौथो हुने टिमले नगद १० हजार रुपैया प्राप्त हुनेछ ।

गत वर्ष देखि बनेपा नगरपालिकाले उपमेयर महिला भलिबल कप आयोजना गर्दै आएको छ । करिव ७ लाख रुपैया खर्च हुने उक्त प्रतियोगिताका लागि नगरपालिकाले ५ लाख रुपैया उपलब्ध गराउने छ । नगद पुरस्कार धेरै भएको महिला भलिबल प्रतियोगिता जिल्लाकै नमूना हो ।
प्रत्येक म्याचमा प्लेयर अफ द म्याच घोषणा गर्दै पुरस्कार उपलब्ध गराउने बनेपा भलिबल प्रशिक्षण केन्द्रका उपाध्यक्ष एवं काभ्रे जिल्ला भलिबल संघका अध्यक्ष विक्रम प्रजापतिले जानकारी दिए ।

२०८० सालमा स्थापना भएको बनेपा भलिबल प्रशिक्षण केन्द्रले छोटो अवधीमा ७० जना भन्दा धेरै भलिबल खेलाडीहरुलाई प्रशिक्षण दिएको छ भने महत्वपूर्ण दुईवटा प्रतियोगिता आयोजना गरेको छ ।
भलिबल खेलको संरक्षण, प्रर्वद्धन तथा त्यस भित्र पनि महिला भलिबल खेलाडीहरुको उत्पादन र प्रशिक्षणका लागि निरन्तर सक्रिय रहेको भवानी जोशीले जानकारी दिए ।