अन्नपूर्ण चुचुरोमा एकै दिन पुगे ३२ आरोही

अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा सोमबार वसन्तकालिन यामको सबैभन्दा धेरै आरोही पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको पाँच समहुका स्वदेशी र विदेशी गरी ३२ आरोहीले सफल आरोहण गरेका हुन् ।

सेभेन समिट ट्रेकबाट नौ जना, पायनियर एडभेन्चरबाट आठ जना, आठके एक्सपिडेसन बाट नौ जना, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुई जनाले अन्नपूर्णको सफल आरोहण गरेको नेपाल पर्वतारोहण संघका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोहीहरु अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए ।

सेभेन समिट ट्रेकका सञ्चालक थानेश्वर गुरागाइँले आफ्नो तर्फबाट नौ जनाले अन्नपूर्णको सफल आरोहण गरी आधार शिविर फर्किएको जानकारी दिए ।

अन्नपूर्णको सफल आरोहण गरेपछि मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गरेको सामाजिक सञ्जालमा लेखेका छन् ।

आरोहणको सिजन सुरु भएसँगै चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरमा यतिखेर आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरुले भरिएको छ ।

गत वर्षभन्दा यसपटक आधर शिविरमा आरोही र पर्यटकको चहलपहल निकै बढेको मौरिस हर्जोग पदमार्गका अभियन्ता तथा नारच्याङका पर्यटनकर्मी तेज गुरुङले भने, ‘‘मौरिस हर्जोग पदमार्ग हुँदै चार हजार एकसय ९० मिटर उचाइमा रहेको आधार शिविरमा पुगेका आरोहीहरुको टोलीले टेन्ट टाँगेर बसेका छन् । आरोहीहरु पुग्न थालेपछि आधार शिविर गाउँ जस्तै बनेको उनले बताए ।

पर्यटन विभागका अनुसार वसन्तयाममा हिमाल आरोहणका लागि पाँच समूहका ३० पुरुष र १२ जना महिला गरेर ४२ जना विदेशी नागरिकले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए ।