पनौती वडा नं. २ मा गठित कार्यदलको सुझावः जोखिम बस्ती स्थानान्तरण गर्दै खानी क्षेत्र घोषणा गर

पनौती/२०८१ असोज १०–१२ मा परेको निरन्तरको वर्षातका कारण पनौती नगरपालिका वडा नम्वर २ मा गएको पहिरो र त्यसको कारण अध्ययन गर्न गठित वडा नम्वर २ को कार्यदलले प्रतिवेदन बुझाएको छ ।

पनौती नगरपालिका क्षेत्र भित्र संचालित साधारण निर्माणमुखी रोडा ढुंङ्गा उद्योग संचालनका कारणबाट स्थानीय भूमि एवं नागरिकहरुको बस्ति जोखिममा परेका गुमाएका सम्वन्धमा खानी क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेश गर्न नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा बसेको बैठकले वडा नम्वर २ मा वडा अध्यक्ष पुरुषोतम अधिकारी र वडा नम्वर १२ का अध्यक्ष जयराम केसीको संयोजकत्वमा अलग अलग कार्यदल गठन गरिएको थियो ।

वडा नम्वर २ मा गठित समितिले तीन महिना पछि प्रतिवेदन तयार गरी हस्तान्तरण गरेको हो । वडा अध्यक्ष अधिकारी सहितको टोलीले नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्मा लगायतलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

प्रतिवेदन बुझ्दै नगर प्रमुख भण्डारीले स्थानीय तहले कार्यान्वन गर्नु पर्ने र कार्यक्षेत्र भित्र रहेका सुझावहरुलाई तत्काल कार्यान्वयन तहमा लैजाने बताए । वडा नम्वर २ मा रोशी खोला रोडा ढुंङ्गा उद्योग प्राली, कार्की रोडा ढुंङ्गा उद्योग प्राली, डायमन्ड स्टोन एण्ड माईनिङ्ग इन्डस्ट्रिज, काठमाडौ रोडा ढुंङ्गा उद्योग, रुशी खोला रोडा ढुंङ्गा उद्योग, पनौती रोडा ढुंङ्गा उद्योग र भालेश्वर रोडा ढुङ्गा उद्योग, उद्योगले पु¥याएको असर, चर्चेको जमिन, नागरिक र ब्यवसायीका सुझाव लगायतका विषयमा अनुसन्धान गरेको थियो । नागरिकको करिव ३ हजार रोपनी जमिन उक्त क्षेत्रमा भएकाले साविक कुशादेवी गाविसको वडा नम्वर ५ र ६ का सबै टोल बस्ति संकटमा परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा स्थानीय नागरिकहरुलाई बस्ती स्थानान्तरणको प्रकृया अघि बढाउन, बस्ती स्थानान्तरण गर्दा अन्यत्र बसोबास स्थल नभएका स्थानीय नागरिकहरुलाई यथासक्य चाँडो अन्यत्र बस्ती स्थानान्तरण गरी सुरक्षित बनाउन, खानी क्षेत्रका नागरिकहरुको माग तथा आवश्यकतालाई समेटी खानीबाट प्रभावमा रहेका बस्तीहरुको जग्गाको बर्गिकरण गरी जोखिमका आधारमा जग्गा नगरपालिकाको खानी हेर्ने शाखाको मुल जिम्मेवारीमा जग्गाको मुल्य निर्धारणको लागि विशेष समिति गठन गरी कार्य अघि बढाउन सुझाव दिएको छ ।

खानी सम्बन्धी दिर्घकालिन समस्या समाधानको लागि नगरपालिका बाट खानी सञ्चालन भएको क्षेत्रलाइ खानी क्षेत्र घोषणाको प्रक्रिया अघि बढाउन, खानी क्षेत्रको राजश्व नगरपालिकाको प्रमुख श्रोत समेत भएकोले खानी सञ्चालन तथा ब्यबस्थापनमा समय समयमा आउन सक्ने समस्या समाधानको लागि नगरपालिकाले अधिकार सम्पन्न संयन्त्र बनाउन, खानीलाई नियमित रुपमा निर्बाध रुपमा सञ्चालनको लागि सबै पक्षबाट ब्यबसायमैत्री वातावरण बनाउन, खानीक्षेत्र मार्फत संकलन भएको राजश्व बाट उक्त क्षेत्रको सुधार तथा ब्यबस्थापन कार्य लाई मुल प्राथामिकतामा राखि सञ्चालन गर्न, खानी क्षेत्र घोषणा का साथ सामाग्रि ढुवानीको लागि बैकल्पिक बाटो निर्माण गर्नु पर्ने सुझाव दिएको छ ।

खानी क्षेत्रको घोषणाको लागि नगरपालिका मार्फत संघिय सरकार र प्रदेश सरकारसंग बिशेष समन्वय गर्नुपर्ने, खानी सम्बन्धी बिषयलाई नगरको दुरगामी महत्वको क्षेत्रका रुपमा आत्मसाथ गर्न अनुरोध गर्ने, जुनसुकै विकल्पमा जाँदा पनि नागरिकहरूको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै बस्ती स्थानान्तरण गर्नुपर्ने, खानी क्षेत्र घोषणा हुन नसकेको अवस्थामा हाल सञ्चालनमा रहेका खानीहरूको लगानीको उचित व्यवस्थापन गरी खारखोला दोभान देखि बहिरा महादेवसम्मको सम्पूर्ण भूभाग समेटेर जलाधार क्षेत्र घोषणा गरी जलाशय निर्माण गर्न सुझाव दिएको छ ।

उक्त सुझाव कार्यान्वयन हुँदा नेपालकै दोस्रो जलविद्युत योजना खोपासी जलविद्युत योजनानियमित रूपमा सञ्चालन गर्न, पनौती लगायत आसपासका क्षेत्रमा सिंचाइको निरन्तरता र थप विस्तार गर्न, पर्यटन व्यवसायलाई प्रोत्साहन गरी देशकै नमुनापर्यटकीय क्षेत्र बनाउन, रोशी खोलामा पाइने असला माछा प्रर्वद्धन गरी आय आर्जनको श्रोत वृद्धि गर्न, नियमित रूपमा खानेपानी आपूर्ति गर्न सकिने तथा काभ्रे उपत्यका लगायत अन्य क्षेत्रको लागि समेत खानेपानीको श्रोत उपयोग गर्न सकिने उल्लेख गरिएको छ ।

रोशी क्षेत्र लागायत सडकको धुलो व्यबस्थापन गर्नको लागि तत्कालै नगरपालिका संगको समन्वयमा खानी ब्यबसायी र ट्रिपर ब्यबसायी संगको त्रिपक्षिय सहकार्यमा समस्या समाधानको योजना बनाई कार्यान्वयन गर्नुपर्ने देखिन्छ । कार्यदलमा पुरुषोत्तम अधिकारी, वडा अध्यक्ष, संयोजक रहेका थिए भने मोहन बजगागाई, प्रेम प्रसाद आचार्य, चन्द्र प्रसाद हुमागाँई, सुदर्शन तिमिल्सिना, गणेश बहादुर शाही, माधव के.सी., बालकृष्ण हुमागाई रहेका थिए । त्यस्तै राजेन्द्र प्रसाद पौडेल, रोशी खोला रोडा ढुङ्गा उद्योग प्रा.लि., रविन कार्की, कार्की रोडा ढुङ्गा उद्योग प्रा.लि., निर्मल गिरी, डायमन्ड स्टोन एण्ड माइनिङ्ग प्रा.लि., ठाकुर गौतम, काठमाण्डौ रोडा ढुङ्गा उद्योग, श्रीराम आचार्य, कोहिनुर रोडा ढुङ्गा उद्योग, इन्द्र कुमार श्रेष्ठ, पनौती रोडा ढुङ्गा उद्योग, विष्णु बहादुर थापा, खानी विज्ञ सदस्य, केशव बन्जारा, सदस्य सचिब अधिकृत छैटौँ, पनौती नगरपालिका रहेका थिए ।