च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आर्सनलले रियललाई ३-० ले हरायो, इन्टरसँग बायर्न स्तब्ध

काठमाडौं / डेक्लान राइसको उत्कृष्ट प्रदर्शनसँगै आर्सनलले च्याम्पियन्स लिग सेमिफाइनलतर्फ ठुलो पाइला चालेको छ । मंगलबार राति एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले रियल म्याड्रिडलाई ३(० को प्रभावशाली जित दिंदै सबैको ध्यान तान्यो ।

खेलको सुरुवातदेखि नै आर्सनल आक्रामक रुपमा प्रस्तुत भयो । रियलको पेनाल्टी बक्समा धमाधम क्रसहरु प्रहार गर्दै दबाब सिर्जना गर्‍यो । पहिलो २० मिनेटसम्म रियलले खासै अवसर बनाउन सकेन । भिनिसियस जुनियरको पहिलो प्रयास पोष्टको बाहिर गयो । तर दोस्रो हाफमा दृश्य परिवर्तन भयो । खेलको ५८औं मिनेटमा डेक्लान राइसले आकर्षक फ्रिकिकमार्फत गोल गर्दै आर्सनललाई अग्रता दिलाए । रियलको पर्खाल पार गर्दै बल जालीमा समातिँदा स्टेडियमभर उत्साह फैलियो ।

राइस यतिमै रोकिएनन् । खेलको ७०औं मिनेटमा उनले अर्को फ्रिकिक गोल गर्दै अग्रता दोब्बर बनाए । उनको आत्मविश्वासपूर्ण प्रदर्शनले आर्सनललाई उचाइमा पुर्‍यायो । ७५औं मिनेटमा मिकेल मेरिनोले उत्कृष्ट फिनिसिङ गर्दै स्कोरलाइन ३(० बनाए । अन्तिम समयतिर रियल थप समस्यामा पर्यो जब एडुआर्डो क्यामाभिङ्गा दोस्रो पहेंलो कार्ड खाँदै मैदान बाहिरिए ।

यो जितसँगै आर्सनल २००८र०९ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनल पुग्ने नजिक पुगेको छ । यद्यपि, दोस्रो लेग रियल म्याड्रिडको घरेलु मैदानमा हुने भएकाले आर्सनलको चुनौती अझै बाँकी नै छ ।

त्यसैगरी अर्को क्वाटरफाइनलको पहिलो लेगमा इन्टर मिलानले बायर्न म्युनिखलाई २(१ ले पराजित गर्दै अग्रता बनाएको छ । यो हारसँगै बायर्नको च्याम्पियन्स लिगमा घरेलु मैदानमा २२ खेलको अपराजित यात्राको पनि अन्त्य भएको छ ।