व्यवहारिक ज्ञानको लागि एक पाइला : उद्यमशीलता

बासुदेब घिमिरे
देशको सर्वपक्षीय विकास र दीर्घकालिन विकासको लागि शिक्षाको भूमिका महत्वपूर्ण रहन्छ । देशको विकासको गतिको मापन के कसरी भइरहेको छ भन्ने हेर्नका लागि त्यो देशको शिक्षाको अवस्था र योजनालाई हेरे पुग्छ । त्यसैले शिक्षालाई समय र युगसापेक्ष बनाई हरेक नागरिकका आवश्यकताहरु पूरा गर्नको लागि सक्षम बनाउनु प्रत्येक देशको लागि चुनौती बनेको छ । नेपालमा पनि शिक्षा क्षेत्रमा समयसापेक्ष सुधार र रुपान्तरणको लागि विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय निकायहरु सक्रिय रुपमा लागि रहेका छन् । राज्यका सम्यन्त्रहरुले मात्र पनि समग्र शैक्षिक रुपन्तरणमा पूर्ण भूमिका निर्वाह गर्न नसक्ने भएकोले यस्ता निकायहरुको भूमिका पनि महत्वपूर्ण रहेको हुन्छ । यस्ता विभिन्न निकायहरुबाट सञ्चालन भएका विभिन्न कार्यक्रमहरुले शिक्षाको समसामयिक रुपान्तरणमा महत्वपूर्ण प्रभाव पारिरहेका पनि छन् । यस्ता कार्यक्रमहरुमध्येको एउटा प्रभावकारी कार्यक्रम ENSSURE Project नेपाल सरकार र स्वीजरल्याण्ड सरकारले संयूक्त रुपमा संचालन भइरहेको छ । यो विशेषतः नेपालको शिक्षामा व्यावसायिकता कसरी थप्ने र विद्यार्थीहरुलाई कसरी उद्यमशील बनाउने भन्नेमै केन्द्रित छ । यसले प्राविधिक तथा व्यवसायिक शिक्षाको क्षेत्रमा उल्लेखनीय कार्यहरु गरिरहेको छ । सन् २०१६ मा पहिलो फेजको कार्यक्रम सुरु भई चलेको यो कार्यक्रमको सन् २०२१ देखि दोस्रो फेजको कार्यक्रमहरु चलिरहेका छन् भने यो फेजको पनि अब अन्तिम अवस्थामा कार्यक्रम पुगेको छ । यहि कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा उद्यमशीलता विकासको लक्ष्य राखी ENSSURE Project चलिरहेका विद्यालयमा शिक्षकहरुको लागि पाँच दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम यहि ३० मार्च देखि ३ अप्रिल २०२५ सम्म हेटौंडा संचालन भयो । काभ्रेको बनेपा, काठमाण्डौको बुढानिलकण्ठ, मकवानपूरको हेटौंडा, चितवनको भरतपूर र रत्ननगर गरी पाँच पालिकाबाट ४ जनाको दरले जम्मा २० जना शिक्षकहरु समेटी सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रमका केहि अनुभवहरुलाई नै मैले यो लेखमा समेट्ने प्रयास गरेको छु ।
ENSSURE Project अन्तर्गत माथि उल्लेखित पालिकाभित्रका विभिन्न विद्यालयहरुमा विद्यार्थीहरुको लागि वृत्तिमार्ग निर्देशन लगायतका कार्यक्रमहरु चलिरहेका छन् । यसमा अब विद्यार्थीमा शिक्षाका साथै सानै उमेरदेखि उद्यमशीलताको विकास गर्नका लागि आवश्यक ज्ञान र सीप विकासको लक्ष्य राखी यो प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो । विद्यालय मार्फत नै सानो लगानीको वातावरण समेत सिर्जना गरी विद्यार्थीका रुची र क्षमताको पहिचान गर्दै उनीहरुलाई उद्यमशीलताको बानी विकास गराउनु नै यो कार्यक्रमको प्रमुख उद्धेश्य हो । उद्यामशीलता विकासको क्षेत्रमा प्रशिक्षक प्रशिक्षणमा लामो समय बिताइसक्नुभएका प्रशिक्षकहरु लेखनाथ इटानी र अमिर लामाज्यूहरुको अनुभवयुक्त प्रशिक्षणमा पाँच दिन पनि पाँच घण्टा झंैं बितेको थियो । तालिम संयोजक कृष्ण घिमिरेसरको सबल व्यवस्थापनमा प्रशिक्षण कार्यक्रम अत्यन्तै प्रयोगात्मक र व्यवस्थित रुपमा सञ्चालन भयो । आआफ्ना विद्यालयमा विद्यार्थीहरुलाई उद्यमशीलता के हो? उद्यामशीलताको सोचको विकास कसरी गर्ने ? व्यवसायिक योजना कसरी निर्माण गर्ने भन्नेजस्ता आधारभूत विषयहरुमा केन्द्रित रहेको प्रशिक्षणले अबका दिनमा विद्यालय तह पार गरिसकेपछिका वालवालिकाहरुमा व्यवसायिक सोचको विकास पक्कै गराउने नै छ । विद्यालयहरुमा निकासा भएको यहि कार्यक्रम अन्तर्गतको बजेटको सदुपयोग गर्दै अव विद्यार्थीहरुलाई व्यवसायिक सिपको र सोचको विकास गराउनु नै यसको प्रमुख उद्धेश्य रहेको छ ।
हाम्रा वरिपरि विभिन्न मानिसहरुले विभिन्न काम गरेर पैसा कमाइरहेका छन् । कति पैसा कमाउन सकिने क्षेत्रहरु त कसैको ध्यानमै परेका छैनन् । विश्वका सफल उद्यमीहरुको इतिहास हेर्ने हो भने उनीहरुले पनि आफ्नो वरिपरि रहेको विभिन्न व्यवसायिक सम्भावनाहरुको गहिरो अध्ययन र खोजी गरी निरन्तरको प्रयासबाटै सफलता पाएका हुन् । उनीहरुको आधारभूत रुपमा रहेको त उही उद्यमशील बन्ने सोच मात्रै नै हो । हाम्रो विद्यालय र समुदाय क्षेत्रमा पनि सानो चिया खाजा पसल, चटपटे, पानीपूरी, श्टेसनरी, खेलौना, कृषि उत्पादन आदिसंग सम्बन्धित विभिन्न व्यवसायहरु गर्न सकिने अवसरहरु रहेका छन् । आज विद्यालयले नै सानो लगानी गरी विद्यार्थीहरुलाई त्यस्ता व्यवसाय गर्ने बानीको विकास गर्न सकेमा भोलि तिनै वालिवालिका ठूला व्यवसायमा संलग्न हुन रुचि राख्छन् । शिक्षाले उनीहरुको व्यवसायी बन्ने चाहनालाई उजागर गर्न सकेमा भोलिका दिनमा त्यसले उनीहरुलाई सफल उद्यमी बन्न पनि सहयोग पु¥याउन सक्न । विद्यालय उमेरदेखि नै हामीले विद्यार्थीहरुमा उद्यमशिलता विकास गर्नु आजको आवश्यकता भइसकेको छ ।
शिक्षाको प्रभावकारिता जाँच्ने महत्वपूर्ण कडि नै शिक्षा जीवनोपयोगी भयो भएन भन्ने नै हो । शिक्षालाई जबसम्म जीवनोपयोगी बनाउन सकिंदैन तबसम्म यसले जीवनमा आमूल परिवर्तन ल्याउन पनि सक्दैन । त्यसैले हाम्रो शिक्षालाई व्यक्तिको जीवनसंग जोड्नका लागि विद्यार्थीलाई उद्यमशील बनाउने काम एकदमै महत्वपूर्ण रहन्छ । यो तालिमले पनि उद्यमशिलता विकास र व्यवसायिक योजना निर्माणको लागि धेरै सैद्धान्तिक र व्यवहारिक ज्ञानहरु दिएको छ । अबका दिनमा यसकै सहयोगमा विद्यालयमा विद्यार्थीहरुमा उद्यमशीलता विकासको लागि कार्ययोजना बनाई अघि बढ्नुपर्ने आवश्यकता रहेको छ । चलिरहेको बाटो भन्दा केहि फरक बाटो हिड्न चुनौती त हुन्छ नै तरपनि नयाँ अनुभव र नूतन गनतब्यमा पुग्नका लागि यो अनिवार्य पनि छ । अबका दिनहरुमा विद्यालयका वालवालिकाहरुमा उद्यमशीलता विकासका विविध पक्षहरुमा केन्द्रित हुँदै अघि बढ्ने निष्कर्षका साथ थुप्रै अनुभवहरुको पोको बाँधेर हेटौंडाको रमाइलो बसाइ सकिएको छ, हेरौं अब के कति गर्न सकिन्छ ।