यू–१९ क्रिकेटः अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई ८५ रनले हरायो

तेस्रो तथा अन्तिम युथ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीलाई हराएको छ । मूलपानी मैदानमा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई डीएलएस मेथडका आधारमा ८५ रनले हरायो ।

नेपालले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको अवस्थामा खेल वर्षाका कारण रोकिएको हो । वर्षाका कारण खेल शुरू हुने नसकेपछि नेपाल डीएलएस मेथडमा विजयी भएको हो ।

युथ एकदिवसीय शृङ्खला अफगानिस्तानले यसअघि नै जितेको छ । अफगानिस्तानले नेपाललाई पहिलो खेलमा १ सय ३० रन र दोस्रो खेलमा १ रनले हराएको थियो ।

आउँदो आइतवारदेखि घरेलु मैदानमा हुने आईसीसी १९ वर्षमुनिको विश्वकप छनोटको तयारी स्वरूप नेपाली युवा टोलीले अफगानिस्तानको १९ वर्षमुनिको टोलीसँग शृङ्खला खेलेको हो । १९ वर्षमुनिको विश्वकप छनोट पनि मूलपानीमै हुनेछ । छनोटमा नेपाल र अफगानिस्तानसहित हङकङ, यूएई र ओमानले खेल्नेछन् ।