आन्दोलनरत शिक्षक र प्रहरीबिच धकेलाधकेल

काठमाडौँ/विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ र प्रहरीबीच विवाद भएको छ।
गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका शिक्षकहरूले माइतीघर–बबरमहल क्षेत्रमा सडकको तीनै वटा लेन कब्जा गर्न खोजेपछि विवाद भएको हो। यसअघि शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरू बिहीबारदेखि भने आक्रोशित देखिएका हुन्।
माइतीघर–बबरमहल क्षेत्रमा यसअघि पनि प्रदर्शन गरेपनि शिक्षकहरूले छेउछेउका दुई लेन भने खुल्ला छाड्ने गरेका थिए। बुधबारदेखि भने उनीहरूले तीनै लेन कब्जा गरेर प्रदर्शन थालेका हुन्। सोही क्रमलाई बिहीबार पनि निरन्तरता दिन खोजेपछि प्रहरीसँग विवाद भएको हो।
सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हड्ताल गर्दै शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका हुन्।
महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ। सोही अडानका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको वार्तामा समेत उनीहरू उपस्थित भएका छैनन्।