दुर्गा प्रसाईंलाई काँकडभिट्टा हुँदै झापा पुर्याइयो, जहाजबाट काठमाडौं ल्याइने

काठमाडौं /राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई भारतको आसाम राज्यबाट पक्राउ गरी नेपाल ल्याइएको छ । प्रहरी स्रोतका अनुसार, उनलाई काँकडभिट्टा नाकाबाट झापा ल्याइएको हो ।
उनलाई मेची पुल क्षेत्रबाट विशेष सुरक्षा व्यवस्थासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए । प्रसाईंलाई शुक्रबार नै विमानमार्फत झापाबाट काठमाडौं ल्याइने तयारी गरिएको छ । पक्राउको नेतृत्व नेपाल प्रहरीको विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गरेको हो ।
प्रसाईं १५ चैतमा तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य कमाण्डर थिए। उक्त आन्दोलन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो । सो घटनापछि फरार भएका उनी भारततर्फ भागेका थिए । प्रहरीको अनुसन्धान र निगरानीपछि उनी बिहीबार आसाममा पक्राउ परेका हुन् । अब उनलाई काठमाडौं ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइने प्रहरीले जनाएको छ ।