भर्ना अभियान प्रभावितः पाठ्यपुस्तक पालिकामा, शिक्षक सडक आन्दोलनमा

शिक्षक आन्दोलकनका कारण विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ । विद्यार्थी–अभिावकसँग भेटघाटका लागि घर–घर पुग्नुपर्ने शिक्षक झण्डा र प्लेकार्ड सहित काठमाडौंमा छन् । नयाँ शैक्षिक सत्रका लागि पालिका–पालिकामा पाठ्यपुस्तक पुगेको छ तर शिक्षकहरु भने विभिन्न माग सहित काठमाडौंमा सडक आन्दोलनमा छन् । जसका कारण नयाँ शैक्षिक सत्र सुरु हुन लागि सक्दा समेत नतिजा प्रकाशनदेखि विद्यालय भर्ना अभियान समेत प्रभावित बनेको हो ।
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार प्रदेशस्थित कार्यालय र केन्द्रबाट धमाधम पाठ्यपुस्तक बिक्री वितरण भइरहेको छ ।
केन्द्रले विद्यालय तहका लागि १ करोड ७० लाख ५० हजार थान पाठ्यपुस्तक छपाइ गरेको छ ।
शिक्षक आन्दोलनका कारण केही विद्यालयले नतिजा सार्वजनिक नगरेको र केही पालिकाले रकम रिलिज नगरेकाले समस्या आएको उनको भनाइ छ ।
पाठ्यपुस्तक वितरणबारे अनुगमन गर्न सरकारी टोली पनि खटाइएको उनले बताए । जनक शिक्षा, पाठ्यक्रम विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा मन्त्रालयको प्रतिनिधि रहने गरी अनुगमन टोली खटाइएको उनले बताए ।
जिल्ला–जिल्ला हुँदै पालिकामा पाठ्यपुस्तक पुगे पनि शिक्षक आन्दोलनका कारण सरकारी विद्यालयबाट विद्यार्थीको हातमा पुस्तक पुग्न भने सकेको छैन ।
२० चैतदेखि सरकारी विद्यालयका शिक्षकले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन् ।
शिक्षक महासंघले शैक्षिक हड्तालको घोषणा गरेकाले पाठ्यपुस्तक वितरण, उत्तरपुस्तिका परीक्षण, भर्ना अभियान, गोष्ठी लगायतमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
सरकार र महासंघबीच सहमति नभए वैशाखदेखि सुरु हुने नयाँ शैक्षिक सत्र र भर्ना अभियान प्रभावित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच बिहीबार पहिलो चरणको वार्ता भएको छ, तर सहमति हुन सकेन । जसका कारण शिक्षकहरू सडक आन्दोलनमा छन् ।