क्यान महासंघ काभ्रेमा शुभकामना आदान प्रदान, क्षमता अभिबृद्धी तालिम तथा भित्तेपात्रो लोकार्पण

बनेपा/कम्प्युटर एशोसियशन नेपाल महासंघ (क्यान) काभ्रेले नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान तथा नयाँ वर्षको भित्तेपात्रो लोकार्पण गरेको छ । अध्यक्ष देवकी आचार्य दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय काभ्रेका प्रमुख जिल्ला न्यायाधिवक्ता कृष्णा भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला न्यायाधिबक्ता कृष्णा भण्डारीले सूचना प्रविधिको सहि प्रयोग गरी दैनिक जीवनयापन सहज र सरल बनिरहेको बताउँदै त्यसको दुरुपयोग तथा गलत प्रयोगका कारण साईबर अपराधका मुद्दाहरु आर्कषित भई नागरिकहरु जेल जीवन भोग्नु परिरहेको बताईन् । ‘एआई जस्ता प्रविधिले ब्यक्तिलाई सहज बनाईरहेका बेला सूचना प्रविधिको सहि प्रयोग, त्यसबाट हुन सक्ने अपराध तथा ब्यक्तिका गोपनियता लगायतका विषयमा क्यान महासंघले सचेतना गराउन आवश्यक छ’–जिल्ला न्यायाधिवक्ता भण्डारीले भनिन–‘सूचना प्रविधि दशक मनाईरहेका बेला त्यसको प्रयोगमा बढोत्तरी आवश्यक छ ।’

कार्यक्रममा क्यान महासंघका केन्द्रिय उपाध्यक्ष शेखरनाथ दुलाल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका पुर्व अध्यक्ष मोतीराम तिमल्सिना, क्यान महासंघ बागमती प्रदेशका उपाध्यक्ष विकास पन्त, काभ्रेका निवर्तमान अध्यक्ष रामचन्द्र न्यौपाने, बनेपा नेपाल पोलिटेक्निक शिक्षालयका उपप्रमुख सरोज बाँनिया लगायतले सूचना प्रविधिको सहि प्रयोग, आवश्यकता र त्यसको माध्यमबाट समृद्धीका विषयमा धारणा राखेका थिए । अध्यक्ष देवकी आचार्य दुलालले क्यान महासंघले बार्षिक क्यालेन्डर तयार गरी गरिने कार्यहरुको खाका प्रस्तुत गरिसकेकाले सोहि क्यालेन्डर अनुसार कार्यक्रमहरु अघि बढाईरहेको बताईन् । भित्तेपात्रो लोकार्पण पछि क्षमता अभिबृद्धी सम्वन्धी कार्यक्रम पनि आयोजना गरिएको थियो । सोहि कार्यक्रममा केन्द्रिय पदाधिकारीहरुले क्यान महासंघ, त्यसका उदेश्य तथा त्यसको प्रयोगबाट ब्यवसायको समृद्धी र नागरिकहरुलाई सहज बनाउन खेल्नु पर्ने भूमिकाका बारेमा छलफल गरिएको थियो । सचिव कमलप्रसाद तिमल्सिनाको संचालनमा सम्पन्न कार्यक्रममा मिलन सापकोटाले स्वागत मन्तब्य राखेका थिए ।