श्री मुक्तिनाथ मन्दिर पनौती ५ बाँसघारीमा बैशाख ७ देखि ९ सम्म तृतीय ब्रम्होत्सव

पनौती/पनौती नगरपालिका वडा नम्वर ५ स्थित बाँसघारीमा रहेको श्रीमुक्तिनाथ मन्दिर संरक्षण समितिले मुक्तिनाथ मन्दिरको प्राणप्रतिष्ठा गरेको तेश्रो वर्षको अवसरमा २०८२ बैशाख ७ गते देखि ९ गतेसम्म तृतीय ब्रम्होत्सव आयोजना गरेको छ ।
श्रीदेवी भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको तृतीय ब्रम्होत्सवको अवसरमा विविध कार्यक्रम आयोजना गरिएको संरक्षण समितिले जानकारी दिएको छ । बैशाख ७ गते पुर्वाङ्ग गरिनेछ । पुर्वाङ्गका दिन विष्वक्सेन आराधना, पुण्याहवाचन, ब्राहणवरण, अङ्कुरारोपण, द्वारतोरण पूजा, अग्निप्रतिष्ठा, ध्वजारोहण गरिनेछ ।
दोश्रो दिन अर्थात बैशाख ८ गते न्यि पूजा आराधना, श्रीदेवी, भूदेवी बल्लभ श्रीमुक्तिनाथ भगवानको बाजागाजा सहित नगर भित्र यात्रोत्सव गरिनेछ । यात्रोत्सव मुक्तिनाथ मन्दिरदेखि पनौती त्रिवेणीधामसम्म हुनेछ ।

तेश्रो दिन अर्थात बैशाख ९ गते महापूर्णाहुती श्रीमुक्तिनाथ भगवानको १०८ कलशद्वारा महाभिषेक, कल्याण उत्सव हुने अध्यक्ष कुमार थापाले बताए । संस्थापक अध्यक्ष गोपालबहादुर थापाको परिकल्पना अनुसार स्थापना र निर्माण भएको उक्त मन्दिरको २०७४ साल असोज ७ गते शिलान्यास गरिएको थियो ।
२०७८ असोज २५ गते सोमबारबाट सर्वसाधारणका लागि खुल्ला गरिएको उक्त मन्दिरमा स्वामी कमलनयानाचार्यद्वारा शिलान्यास गरिएको थियो भने मुक्तिनाथ मन्दिरको शुभारम्भ कमलनयानाचार्यबाटै गरिएको थियो ।

‘मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिर पछिको विधि अनुसार धामको रूपमा स्थापना गरिएको यो दोस्रो मन्दिर हो । तीन तल्ले यो मन्दिरमा आवश्यक पर्ने विभिन्न संरचना निर्माण गरिएको छ । मुक्तिनाथ धाममा नियमित पूजाको विधि गरिएको छ । विभिन्न क्षेत्रबाट मुक्तिनाथ दर्शन गर्न आउने भक्तजनहरुको संख्यामा उल्लेख्य बृद्धी भएको छ ।
