दर्शन पाऔं

दर्शन पाऔं प्रभुजी अब दर्शन पाऔंन,
नयन तेस्रो खोलिनु पर्यो दर्शन पाऔंन,
संस्कृति धर्म लिलाम गर्यौं ती सबै बिगार्यौं,
पापको धुलो संग्रह गरी मनमा थुपार्यौं,
असल मान्छे पाखामा पार्ने आफन्त चैं जाति ,
अर्काको कमी उछाल्दै पुग्न खोजेका छौं माथि,
शरण पाऔं प्रभुजी अब शरण पाऔंन,
मनको मैलो पखाल्नु पर्यो शरण पाऔंन,
निष्ठाको विना पुजा र पाठ सद्भक्ति रहित,
कमाई खाने औजार भए स्वार्थले प्रेरित,
मोक्षका जिम्मा लिएकाहरु भ्रम यो छर्दछन्,
धनको दान नगरे श्वर्ग मिल्दैन भन्दछन्,
आशिष पाऔं प्रभुजी अब आशिष पाऔंन,
कुभाव हाम्रो टाढिनु पर्यो आशिष पाऔंन,
प्राणीको भलो धर्मको मर्म बुझौँन सबैले,
म आफैंभित्र हरिको बास सम्झेनौ धेरैले,
त्यो धर्म कार्य गर्नेनै होनि कल्याण खातिर,
आफैमा बस्ने ईश्वर चिनौ फर्केर ऊतिर,
दर्शन पाऔं प्रभुजी अब दर्शन पाऔंन,
नुतन भाव खोलिनु पर्यो दर्शन पाऔंन,
कुभाव सोची गर्दा त हुन्न पुण्यको त्यो कर्म,
मनको भाव पारेर शुद्ध बढ्नुमा छ धर्म,
कमाई खाने भाँडोझैं ठान्यौं शास्त्र र पुराण,
यथार्थ व्याख्या शास्त्रको खोज्न अगाडि सरौँन,
देखाउ बाटो प्रभुजी अब त्यो बाटो देखाउ,
मानव धर्म जागृत पार्ने प्रेरणा जगाउ,
कुदृष्टि जाग्यो ओझल पर्यो सुदृष्टिभावमा,
सत्कर्म अनि त्यो सद्विचार विलायो नभमा,
यी तानातानी प्रवृत्तिलाई विन्ति छ हटाउ,
विवेक वुध्दि प्रयोग गर्ने पाठ लौ सिकाउ,
सुवुध्दी पाऔं प्रभुजी अब सुवुध्दी पाऔंन,
मनको मैलो पखाल्नु छ त सत्संग जाऔंन।