सिद्धबाबा क्षेत्रमा पहिरोले कार पुर्‍यो, राजमार्ग अवरुद्ध

काठमाडौं / पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा क्षेत्रमा शनिबार बिहान भीषण पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बिहान ४ बजेतिर खसेको पहिरोले लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको एक कार पुरिएको प्रहरीले जनाएको छ । कार माथिल्लो भागबाट आएको पहिरोले पुरेको हो ।

कार बुटवलबाट पाल्पाको भैरवस्थानतर्फ गइरहेको थियो । कारका चालक र यात्रुहरू भने सकुशल छन् । यद्यपि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ ।

यतिबेला दोभान क्षेत्रको तल्लो र माथिल्लो सिद्धबाबा खण्डमा निर्माणाधीन कल्भर्ट पनि समस्यामा परेको छ । त्यहीँ भासिएको कल्भर्टमा एक टिपर फसेको र त्यसलाई हटाउने प्रयास जारी रहेको दोभान प्रहरी चौकीले जनाएको छ । स्थानीय चालक पीताम्बर भट्टराईका अनुसार, रातिदेखि परेको अविरल वर्षाका कारण बिहान ४ बजेदेखि नै राजमार्ग अबरुद्ध भएको हो ।