झापामा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीले सम्बोधन गर्ने

झापा/ नेकपा एमालेले आज झापाको दमकमा जागरण सभा गर्ने भएको छ । दमकको पशुहाटमा दिउँसो साढे १२ बजे सुरु हुने सभालाई प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

लोकतान्त्रिक गणतन्त्र, संविधानको रक्षा र प्रतिगामी चलखेलका विरुद्ध एमालेले कोशी प्रदेश स्तरीय जागरणसभा आयोजना गरेको हो ।

सभामा सहभागी हुनका लागि कोशी प्रदेशका गाउँगाउँबाट एमालेका कार्यकर्ताहरू दमक आउने क्रम जारी रहेको छ ।

एमालेका अनुसार कार्यक्रम स्थलको पूर्वतर्फबाट आउने सवारी साधनहरू रतुवा पुल पारी रोकेर नारा जुलुस सहित सहभागीहरू पशुहाटस्थित कार्यक्रम स्थलमा प्रवेश गर्नेछन् ।